हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन अब अनलाइनबाट आवेदन दिन सकिने



काठमाडौँ । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड (फिजिकल वा ई–सिम) को सट्टा नयाँ सिम प्राप्त गर्न अनलाइन आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ। यो सेवा साउन १ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका अनुसार सेवाग्राहीले अब अनलाइन पोर्टलमार्फत आवश्यक विवरण भरेर नयाँ सिमका लागि आवेदन दिन सक्नेछन्। आवेदनका लागि ग्राहकले नेपाल टेलिकमको केवाईसी पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमार्फत आवश्यक विवरण बुझाउनुपर्नेछ।

अनलाइन फारम पूरा गरेपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट नयाँ सिम प्राप्त गर्न सक्नेछन्। नयाँ सिम प्राप्त गर्दा निर्धारित ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ।

यदि ग्राहक स्वयं उपस्थित हुन नसकेमा फारममै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ। सिम लिन आउने प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकको गोपनीयता र सुरक्षा सुनिश्चित गर्न आवश्यक प्रक्रिया अपनाइएको छ।

नेपाल टेलिकमको उक्त अनलाइन पोर्टलमार्फत हराएको वा बिग्रिएको सिमको सट्टा नयाँ सिम लिनुका साथै नयाँ प्रिपेड ई–सिम प्राप्त गर्ने, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्ने तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्ने सुविधा पनि उपलब्ध छ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्