कोलकातादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन, औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो खेप आइपुग्यो
विराटनगर, ४ साउन । भारतको कोलकाताबाट विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको छ। औद्योगिक कच्चा पदार्थ बोकेको रेल आइतबार विराटनगरस्थित एकीकृत जाँच चौकीमा आइपुगेको हो।
विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, उद्योगी–व्यवसायी तथा सर्वसाधारणले रेलको स्वागत गरेका थिए। नेपाल–भारत पारवहन सम्झौताअनुसार जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर–१८ भेडियारीस्थित नेपाली भन्सार यार्डसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने व्यवस्था अन्तर्गत यो सेवा सुरु भएको हो।
स्वस्तिक आयलले खानेतेल उत्पादनका लागि मगाएको औद्योगिक कच्चा पदार्थ बोकेको उक्त रेल साउन १ गते कोलकाता बन्दरगाहबाट प्रस्थान गरेको थियो। रेलमा ४० कन्टेनर खानेतेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ रहेको भन्सार प्रमुख श्रेष्ठले जानकारी दिए।
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले रेललाई संयुक्त रूपमा बिदाइ गरेका थिए।
नेपाली महावाणिज्यदूतावासका अनुसार सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनर रेलमार्फत सिधै विराटनगर पठाउन सकिनेछ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







