आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल सम्मिलित त्रिदेशीय शृंखलामा नामिबियामाथि नेदरल्यान्ड्सको जित
काठमाडौँ। घरेलु टोली नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । शनिबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेदरल्यान्ड्सले नामिबियालाई ५८ रनले निराश बनाएको हो ।
नेदरल्यान्ड्सले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको नामिबियाले ४७।५ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो ।
नामिबियाका निम्ति लोरेन स्टीनक्याम्पले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ८७ बलमा तीन छक्का र एक चौका प्रहार गरे ।
मलान क्रुगरले ३६, कप्तान जेहार्ड इरस्मसले २७, जान निकाले लोफ्टी इटोनले १७ र माइकल भान लिंगनले १५ रन बनाए ।
नेदरल्यान्ड्सका आर्यन दत्त र लोगन भान बिकले चाररचार तथा कायल क्लेइन र ज्याक लायन क्याचेटले एकरएक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५१ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका बास डी लिडेले सर्वाधिक ९७ रनको योगदान गरे । उनले ९२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।
कप्तान स्कट एड्वार्डसले ४०, म्याक्स ओ’डोउडले ३९, लोगन भान बिकले अविजित १८, नोआ क्रसले १८, ज्याक लायन क्याचेटले १७ र कार्डिक डे लाङले १३ रन बनाए ।
नामिबियाका जान निकोल लोफ्टी इटोले दुई तथा जेजे स्मिथ, रुबेल ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट्र्ज र जेर्हार्ड इरस्मसले एकरएक विकेट लिए ।
जितसँगै ३० खेलबाट ३६ अंक जोडेको नेदरल्यान्ड्स लिग तालिकाको तेस्रो स्थानमा छ । पराजित नामिबिया समान खेलबाट २४ अंकका साथ छैटौँ स्थानमा छ ।
पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए । अब सोमबार नेपाल र नामिबिया भिड्नेछन् ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







