नन्दनले लिग २ का बाँकी खेल गुमाउने
काठमाडौं। तीव्र बलर नन्दन यादवले नेदरल्याण्ड्समा भइरहेको क्रिकेट विश्वकप लिग २ को बाँकी खेल गुमाउने भएका छन्।
ह्यामस्ट्रिङ तन्किएका कारण उनी खेल्न नसक्ने भएको नेपाल क्रिकेट संघ क्यानले आइतबार जनाएको छ।
मंगलबार नामिबियासँगको पहिलो खेलमा उनी असहज महसुस गर्दै मैदान छाडेको भिडियो प्रत्यक्ष प्रसारणमा देखाइएको थियो।
त्यसपछि उनले बिहीबार नेदरल्याण्ड्ससँगको दोस्रो खेल खेलेका थिएनन्।
नेपाली टोलीमा १६ औँ खेलाडीका रूपमा अर्का तीव्र बलर हेमन्त धामी रहेका छन्, सम्भवतः नन्दनको स्थानमा हेमन्त नेपालको १५ सदस्यीय टोलीमा आउनेछन्।
नेपालले सोमबार नामिबियासँग र बुधबार नेदरल्याण्ड्ससँग लिग २ को बाँकी दुई खेल खेल्नेछ।
नामिबिया र नेदरल्याण्ड्ससँगको पहिलो दुई खेलमा नेपाल पराजित भएको थियो र नेपालले दुवै खेलमा पहिला ब्याटिङ गर्दै १ सय ५७ रन मात्र बनाउन सकेको थियो।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







