काभा पुरुष भलिबल: बंगलादेशसँग पराजित हुँदै नेपालको सेमिफाइनल सम्भावना कमजोर
काठमाडौं, १० साउन । काभा पुरुष भलिबल प्रतियोगितामा नेपालले लगातार चौथो हार व्यहोरेपछि सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त कमजोर बनेको छ।
नेपाल प्रतियोगिताको आफ्नो चौथो खेलमा बंगलादेशसँग ३–२ सेटले पराजित भयो। बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ को सेटमा हरायो।
नेपालले पहिलो र तेस्रो सेट आफ्नो पक्षमा पारे पनि बंगलादेशले दोस्रो, चौथो र निर्णायक पाँचौं सेट जित्दै खेलमा पुनरागमन गरेको थियो। खेलभरि नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्ततः जित निकाल्न सकेन।
हालसम्म नेपाल प्रतियोगितामा जितविहीन रहेको छ। नेपालले यसअघि पहिलो खेलमा काजकिस्तान, दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो। यससँगै नेपाल प्रतियोगितामा जित हासिल गर्न नसक्ने पहिलो टोली बनेको छ।
नेपालले लिग चरणको आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्ने छ। उक्त खेलमा सकारात्मक नतिजा निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने लक्ष्य नेपालको रहनेछ।
Provide your feedback on BizChat
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







