देवानगञ्ज घटनाप्रति मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त, संयमित रहन आग्रह
विराटनगर, ११ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले आइतबार अपराह्न विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।
संवेदनशील परिस्थितिमा अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई थप सुदृढ बनाउन सबैमा आह्वान गरेका छन्।
विज्ञप्तिमा उनले नेपाली समाज विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको सम्मान गर्दै एकताबद्ध रूपमा अघि बढ्दै आएको उल्लेख गरेका छन्। घटनालाई उत्तेजित नबनाई सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीलाई अनुरोध गरेका छन्।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको बताए। आवश्यक समन्वय र सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी पनि दिएका छन्।
उनले नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जीउधनको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







