सामाजिक सद्भाव कायम राख्न सर्वदलीय बैठकको आह्वान
विराटनगर, ११ साउन । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार बसेको सर्वदलीय बैठकले सबै पक्षलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सबै पक्षले आआफ्नो तहबाट प्रभावकारी पहल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए।
घटनापछि स्थानीय प्रशासनले देवानगञ्ज, घुस्की, कप्तानगञ्ज, भुटहा र हरिनगरा बजार क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिएको बताए। उनले प्रशासनको सक्रियतासँगै त्यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको उल्लेख गरे।
कप्तानगञ्जमा शनिबार राति दुई समूहबीच विवाद भएपछि भएको झडपमा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो।
बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







