प्रधानमन्त्रीको निर्वाचन जेठ २१ मा, एमालेको अवरोध कायमै

काठमाडौं, जेठ १८
नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने भएको छ ।
एमालेको अवरोधका कारण आज संसद बैठक बस्न नसकेर बहुमतीय सरकार गठन गर्न आह्वान सहितको पत्र पेश गर्न नपाइएपनि सूचना टाँस गरेर सो जानकारी दिने तयारी संसद सचिवालयले गरेको छ ।
त्यसका लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेपछि सूचना निकाल्ने छिन् । एमालेले भरतपुरमा मतपत्र च्यातिएको विरोधमा लगातार दुई दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ ।
निर्वाचन कार्यक्रम सार्वजनिक गर्न र उम्मेदवारी दर्तालाई सदन अवरोधले रोक्दैन । तर, प्रधानमन्त्री चयनका लागि मतदान गर्न भने सदनको अवरोध हट्न जरुरी हुन्छ । बहुमतीय आधारमा माओबादी केन्द्रसंगको सहमती लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार












