रियल मड्रिड बन्यो १२ औं पटक युरोपको च्याम्पियन
एजेन्सी, जेठ २१
स्पेनिस च्याम्पियन रियल मड्रिड १२ औं पटक युरोपको च्याम्पियन बनेको छ ।
वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको यो सिजनको फाइनलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै लगातार दोस्रो तथा समग्रमा १२ पटक च्याम्पियन बनेको हो ।
च्याम्पियन्स लिगको नामबाट प्रतियोगिता भएदेखि लगातार दोस्रो वर्ष उपाधि जित्ने रियल मड्रिड पहिलो टिम बनेको छ ।
कार्डिफमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका खेले । उनले २० र ६४ औं मिनेटमा गरी दुई गोल गरे ।
यस्तै ६१ औं मिनेटमा कासमेइरो र ९० औं मार्को एसेन्सिओले गोल गरे । युभेन्टसका लागि २७ औं मिनेटमा मारियो मान्जुकीले एक गोल फर्काए ।
८४ औं मिनेटमा आन क्वाड्राडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।
युभेन्टस यसअघि सन् १९९८ मा फाइनलमा रियलसँग १–० ले पराजित भएको थियो । चौथो सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग च्याम्पियन बनेको रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा समग्रमा एक सय ५ गोल गरेका छन् ।
यो सिजन १३ खेलमा १२ गोल गरेका उनी सिजनका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ११ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् ।
यसैगरी च्याम्पियन्स लिगका तीन फरक फाइनलमा गोल गर्ने एक मात्र खेलाडी पनि रोनाल्डो बनेका छन् । उनले सन् २००८, २०१४ र २०१७ को फाइनलमा गोल गरेका हुन् ।
यस्तै रियल मड्रिडका प्रशिक्षक च्याम्पियन्स लिग एरामा लगातार उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि सन् १९८९ र १९९० मा एसी मिलानले लगातार उपाधि जितेको थियो ।
प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार