Deshko News
१३ आश्विन २०८०, शनिबार

प्रधानमन्त्री निर्वाचन हुने, एमालेले सदन अवरोध नगर्ने



काठमाडौँ, जेठ २२

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।

सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए ।

बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता विमलेन्द्र निधिले सदन खुलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो ।

त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको उपप्रधान तथा गृहमन्त्री निधिले स्पष्ट पार्नुभयो ।

त्यसैगरी एमाले नेता झलनाथ खनालले मङ्गलबार हुने सदनको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्री चुन्ने बताउँदै प्रधानमन्त्री हुनुहुने उहाँलाई अग्रीम बधाई छ भन्नुभयो । उहाँले भावी प्रधानमन्त्रीले गर्ने राम्रा कामका लागि पार्टीले समर्थन गर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नयाँ सरकारले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई तलमाथि नयरी शान्तिपूर्ण, भयरहित र निष्पक्षताका साथ गर्ने सहमति भएको बताउनुभयो ।

प्रदेश र राष्ट्रियस्तरको निर्वाचन सम्पन्न गर्न सबै एकताबद्ध भएर लाग्ने, सरकारले राज्य संरचनालाई निष्पक्षताका साथ उपयोग गर्ने र निर्वाचनलाई सफल पार्ने काममा दृढतापूर्वक लाग्ने सहमति भएको छ । नेता खनालले पहिलो चरणको निर्वाचनमा देखिएका अनियमितालाई नदोहो¥याउने सङ्कल्प गरिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसद्को अवरोध हटाउन एमाले समहत भएकाले मङ्गलबार राष्ट्रले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको बताउनुभयो । रासस

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News