चुनौतीको चाङमा देउवा, यस्ता छन् तीन मूख्य चुनौती


 


काठमाडौं, जेठ २४
चौथोपटक प्रधानमन्त्रीमा निर्वा्चित कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनौतीका चाङ छन् । आगामी ७ माघसम्म बाँकी सबै निर्वाचनसहित संविधान कार्यान्वयनका चुनौती छन् ।

 

चार प्रदेशमा स्थानीय तहको निर्वाचन

प्रदेश १, २, ५ र ७ नम्बर प्रदेशमा १४ असारमा स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउनुपर्ने पहिलो चुनौती देउवासामु छ । संविधान संशोधन गरेर मधेसकेन्द्रित दलहरूलाई सहमतिमा ल्याउनुपर्ने अर्को चुनौती छ । राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिनेदेखि प्रमुख प्रतिपक्षी एमालेलाई मनाएर संविधान संशोधनका लागि भूमिका खेल्नुपर्ने जिम्मेवारी देउवासँग छ ।

स्थानीय तहको संख्या थप, प्रदेश र संसद्को निर्वाचन आगामी ७ माघसम्म गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई पूरा गर्नुपर्नेछ । प्रदेशको निर्वाचनअघि थाती रहेको सबैभन्दा विवादित विषय संघीय सीमांकनमा सहजीकरण गरेर निकास निकाल्नुपर्ने देउवासामु अर्को चुनौती छ ।

 

पार्टीको छवि र साख जोगाउने

पार्टीको गिर्दो साख र शक्तिलाई फर्काउनुपर्ने चुनौती पनि देउवालाई छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा मुख्य पदमा कांग्रेसले प्रतिस्पर्धी पार्टी एमालेभन्दा २० सिट कम जितेको छ ।

यसअघि आफ्नो प्रभाव क्षेत्रका साथै सचेत मतदाता रहेका सहरी क्षेत्रमा कांग्रेस धेरै ठाउँमा पराजित भएको छ । पहिलो चरणको निर्वाचनअघि राजदूत सिफारिस, आइजिपी प्रकरण, प्रधानन्यायाधीशविरुद्धको महाअभियोगजस्ता विषयले कांग्रेसलाई कमजोर बनाएको भन्दै पार्टीमा नेता रामचन्द्र पौडेल पक्षले देउवामाथि प्रश्न उठाएको छ ।

 

लोडसेडिङ हुन नदिने र आर्थिक वृद्धि बढाउने चुनौती

देउवालाई अर्को चुनौती भनेको लोडसेडिङ हुन नदिने र आर्थिक वृद्धि बढाउँदै लैजाने । एक वर्षअघिसम्म दश घन्टासम्म लोडसेडिङ हुँदै आए पनि पछिल्लो आठ महिनायता काठमाडौंसहितका मुख्य सहर लोडसेडिङमुक्त छन् ।

विद्युतको व्यवस्थापन मात्र हुँदा पनि लोडसेडिङ निर्मूल भएको अवस्थालाई देउवा सरकारले पनि निरन्तरता दिनुपर्नेछ । साथै, अहिले झन्डै ७ प्रतिशतको हाराहारीमा भएको आर्थिक वृद्धिद्धरलाई घट्न नदिई बढाउनुपर्ने चुनौतीमा उनी छन् ।

उनीसामु पुनर्निर्माणलाई सहज र प्रभावकारी बनाएर अगाडि बढाउनुपर्ने चुनौती पनि छ । दुई छिमेकी राष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने अवस्थामा उनी छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्