देउवा पुनरागमन संयोग : जुन कारण असक्षम, त्यही पूरा गर्न सिंहदरबार


 



अंकुश कुँवर 
काठमाडौं, जेठ २४
यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि चौथो पटक प्रधानमन्त्री भएका छन् ।

उनी १२ वर्षपछि सिंहदरबार प्रवेश भएका छन् । ‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ भन्ने उखान उनको यो सिंहदरबार फिर्तीसंग मिलेको छ । उनले फेरि १२ वर्षपछि शासनको बागडोर सम्हाल्ने मौका पाएका छन् ।

१२ वर्षमा खोलो फर्किन्छ भन्ने उखान नै असफल भएको वा पूरा नभएको काम पूरा गर्ने मौका वा कुनै अवसर पाउने भन्ने हुन्छ । यसअघि २०५८ सालमा निर्वाचन गर्न नसक्दा देउवालाई असक्षम प्रधानमन्त्री घोषणा गर्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले अपदस्त गरेका थिए । त्यो बेला माओबादी द्वन्द्वकै कारण देउवाले निर्वाचन गर्न सकेका थिएनन् । त्यसपछि देउवालाई पदच्युत गर्दै राजाले नै शासनसत्ता हातमा लिए ।

राजाले शासनसत्ता आफ्नो हातमा लिएर शाही ‘कु’ गरेपछि राजसंस्था जनतासामू बच्न सकेन । २०६२/६३ को दोस्रो ठूलो आन्दोलनबाट राजसंस्था हटाइयो । सर्वभौम अधिकार जनताको हातमा आयो । तर पनि देउवाले प्रधानमन्त्री बन्ने सम्भावना रहेपनि अवसर पाउन सकेनन् । देशमा गणतन्त्र स्थापना भएको दश वर्षमा आठजना प्रधानमन्त्री भए । तर, उनको पालो भने नवौं पटक मात्रै आयो ।

अहिले उनी ४० औं प्रधानमन्त्रीका रुपमा सिंहदरबार छिरेका छन् । जुन कार्य गर्न नसकेका कारण अपदस्त भएका थिए, आज उनी त्यही काम पूरा गर्न सिंहदरबार छिरेका छन् । अब देउवाले स्थानीय तह दोस्रो तरको निर्वाचनसंगै, प्रदेश र संघको निर्वाचन आगामी माघ महिनाभित्रै गरिसक्नुपर्ने छ । उनले त्यो काम पूरा गर्न पनि आफू प्रधानमन्त्री भएको उद्घोष पनि गरिसकेका छन् ।

यसलाई संयोग मान्नुपर्छ वा असफल काम गरेर देखाउन उनले यो वातावरण मिलाएका हुन् ? अब उनी असफल भएको काम सफल पारेर देखाउन चाहन्छन् वा फेरि पनि असफल ? त्यो आगामी दिनमा हेर्न पाइने नै छ ।

यसै विषयसंग जोडिएको अर्को रोचक प्रसंग के छ भने तत्कालिन समयमा निर्वाचन जसका कारणले गर्न सकेका थिएनन् आज त्यसैको प्रस्तावमा देउवा प्रधानमन्त्री भएका छन् । तत्कालिन समयमा माओबादीकै कारण उनी निर्वाचन गर्न नसकेर राजाबाट असक्षम घोषित भएका थिए । आज उनै देउवा माओबादीकै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा मुलुकको प्रधानमन्त्री भएका छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्