Deshko News
१६ आश्विन २०८०, मंगलबार

हातमुख जोड्न भिख माग्दै जनआन्दोलनका घाइते



फलेबास, पर्वत, जेठ २४

विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य हुनुभएको छ ।

रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य हुनुभएको छ । आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उहाँलाई प्रहरीको गोली लागेको थियो । उहाँ सँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए ।

खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताउनुभयो । खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो ।

उपचारका लागि उहाँलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उहाँको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्कनुभएको थियो । उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उहाँले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गर्नुभएको थियो । काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । सानैमा आमाबुबा गुमाएका उहाँले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाउनुभयो ।

उहाँकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । अहिले कृत्रिम गोडाको सहायताले उहाँ हिँड्डुल गर्नुहुन्छ । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उहाँको छैन । उहाँले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधैँ पीडित नै बनिरहेको दुखेसो गर्नुभयो ।

“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उहाँले गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।”

खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गर्नुभयो । आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिग्रँदै गएको छ । उहाँले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गर्नुभयो । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News