राष्ट्रिय कराँते प्रतियोगिता : पुनर्वास शाखाको बर्चश्व, ६ स्वर्ण पोल्टामा


 


रञ्जित लामा
पुनर्वास, जेठ २४
जापान कराँते डो नाम्बुकाई सितोरियो संघ नेपाल, शाखा पुनर्वासले ६ ओटा स्वर्ण पदक हात पर्न सफल भएको छ ।

जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपालको आयोजनामा काठमाण्डौंको दशरथ रङ्गशालामा भएको दुई दिवसीय प्रतियोगितामा भएको प्रथम बृहत राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वास शाखाले आफ्नो बर्चश्व कायम राख्दै ६ स्वर्ण पदक हासिल गरेको हो ।

जिल्लाकी प्रमुख प्रशिक्षक बिन्दू मोक्तान (खान)को नेतृत्वमा गएको ३३ जना खेलाडी समूहले प्रतियोगितामा आफ्नो बलियो सहभागिता जनाएका थियो ।

३३ जनाको सहभागिता मध्ये ६ जनाले स्वर्ण पदक र अन्य सहभागी खेलाडीहरुले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । स्वर्ण पदक पाउनेमा आर्यन खान, किसान चौधरी, दिपिका चौधरी, यस्तर तामाङ, अञ्जली बी.सी. र नेत्रकुमार तिरुवा रहेका छन् । उत्कृष्ट फाइटर पुनर्वासकै किसान चौधरी घोषित भएका छन् ।

प्रथम बृहत राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वासकी बिन्दू मोक्तान (खान) सम्मानित भएकी छन् । खेलकूद क्षेत्रमा निस्वार्थ रुपमा निरन्तर समर्पणभाव बोकी सुदूरपश्चिमका जिल्लाहरुमा जापन कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाललाई चिनाउँने र बृहतरुपमा संगठन बिस्तार गर्न योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो । पुनर्वासले पहिलो पटक खेल जगतमा ६ ओटा स्वर्ण पदक प्राप्त गरेको हो ।

 

को हुन् पुनर्वासकी बिन्दू मोक्तान खान ?

कञ्चनपुरको दक्षिण क्षेत्रका एकल स्थापित महिला खेलाडी हुन् बिन्दु मोक्तान खान । प्रतिकूल समयको कुनै प्रवाह नगरी आफ्नो कर्म र उद्देश्यप्रति कटिबद्ध विन्दु पुनर्वास÷बेलौरीकी बासिन्दा हुन् । महिला खेलाडीको रुपमा एक आशलाग्दा ब्यक्तित्व हुन् बिन्दु मोक्तान खान ।

सानै उमेरमा खेललाई आफ्नो रुचि बनाएर सितोरियो कराँते खेलमा प्रबेश गरेकी उनी बिभिन्न बाधा अबरोधहरुलाई छिचोल्दै हाल उनी जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाल, जिल्ला शाखा कञ्चनपुरकी प्रमुख प्रशिक्षकको रुपमा उभिएकी छन् ।

खेल जीवनको उतारचढाव
खेलमा निरन्तर अभ्यासको कमी र जनमानसमा उब्जिएको खेल प्रतिको बितृष्णाले उनको खेल जीवनको यात्राले केही समय बिश्रान्ती लिएको देखिन्छ । खेलको प्रतिकूल बाताबरण र गुरुहरुको प्रशिक्षणको अभावले उनी सितोरियो कराँतेको ब्राउन बेल्टमै सीमित रहनु प¥यो ।

बिन्दू वैवाहिक जीवनमा प्रबेश भइसकेपछि उनले आफ्नो खेल जीवनको यात्रालाई अझ द्रूत गतिमा अगाडि बढाइन् । श्रीमान् मोहमद असद खानको भरपुर सहयोग र आफ्ना श्रद्धेय गुरुद्वय कृष्ण र अभिषेक कुमालको प्रशिक्षणले आफ्नो खेलमा निपूर्णता थप्दै बिन्दूले ब्ल्याक वन डन दर्जा हत्याइन् ।

ब्ल्याक वन डन दर्जा हत्याइसकेपछि उनले एउटा नयाँ अध्यायको शुरु गरिन् । करिब ९ महिना अगाडि केही प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने उद्देश्यका साथ उनले सुरुवात गरेको जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाल, पुनर्वास शाखामा हाल १ सय ११ जना प्रशिक्षार्थीहरुको सहभागिता जुटेको छ । उनले भने ‘मेरो पहिलो रोजाई खेल नै हुनेछ ।

तर, समयले के भूमिका दिन्छ त यो भने भन्न सकिदैन ।’ अबको बाटो चुनौतीपूर्ण रहेको भन्दै उनले आफूभन्दा राम्रा खेलाडीहरु जन्माउन सके मात्र आफ्नो सफलता हुने बताइन् । स्नातकतहसम्म औपचारिक शिक्षाम हासिल गरेकी ३२ वर्षीया बिन्दूका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्