बालिका बलात्कार आरोपमा आयल निगमका पूर्वएमडी पक्राउ


 


काठमाडौं, जेठ २५
नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । नयाँ पत्रिकामा खबर छ । पिंगलास्थान बस्ने शर्मालाई प्रहरीले ११ जेठमा पक्राउ गरेको हो ।

पीडित किशोरीले शर्माले ६ जेठमा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी कार्कीले बताए । साँझको समयमा शर्मा कोठामा मदिरा पिइरहेका थिए ।

किशोरीलाई उनले पानी ल्याउन लगाए । पानी लिएर कोठामा पुगेपछि ढोका लगाएर खाटमा लगी आफूमाथि बलात्कार गरिएको किशोरीले दिएको उजुरीमा छ ।

किशोरीका दाइ पनि सोही घरमा काम गर्दथे । घरछेउमा बहिनी रोइरहेको देखेपछि उनले त्यसको कारण सोधेका थिए । तर, तत्काल उनीहरूले प्रहरीमा उजुरी दिन सकेनन् । पछि यो घटना बालक्लब मार्फत माइती नेपाल संस्था हुँदै प्रहरीकहाँ पुगेको हो । पीडित किशोरीको मेडिकल रिपोर्टमा पनि बलात्कार भएको प्रस्ट छ ।

६४ वर्षीय शर्मा मेकानिकल इन्जिनियर हुन् । नेपाल आयल निगमका एमडीका रूपमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दासमेत चलेको थियो । जसमा उनलाई अदालतले समेत दोषी ठहर गरेको थियो । शर्मा एक वर्ष जेल बसेर छुटेका हुन् ।

शर्मा पक्राउ परेपछि उनलाई मुद्दा नचलाउन धेरै नेताबाट दबाब आएको प्रहरी स्रोत बताउँछ । दाङ घर भएका उनी कांग्रेस नेता खुमबहादुर खड्काका आफन्त तथा साथी हुन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्