भरतपुर–१९ मा चुनावी अभियान, एमाले पनि भोट माग्दै


 


चितवन, जेठ २५
मतगणनाका क्रममा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने बारे टुंगो नलागेपनि दलहरुले चुनावी अभियान थालनी गरिसकेका छन् ।

वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्ने बारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । नयाँ पत्रिकामा खबर छ । मतदान विरुद्ध सर्बोच्चमा रिट दिएको एमाले पनि चुनावी अभियानमा जुटेको छ ।

एमाले वडा कमिटीले मंगलबारदेखि नै घरदैलो अभियान सुरु गरेको छ । तीन समूह बनाएर घरदैलो अभियान सुरु गरेको भरतपुर–१९ का इन्चार्ज बिपुला दवाडीले बताइन् । उनले एमालेले जीवनज्योति बुथका लागि जिल्ला कमिटी सचिवालय सदस्य विष्णुहरि तिवारी, शारदा उमावि बुथका लागि जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश ढुंगाना र किरणगन्ज मावि बुथका लागि जिल्ला कमिटी सदस्य रामजी सापकोटाको नेतृत्वमा टोली परिचालन गरेको जानकारी दिइन् ।

कांग्रेस–माओवादी गठबन्धनबाट महानगरको मेयरकी उम्मेदवार रेणु दाहालले पनि वडा नम्बर १९ मा पुनः घरैदैलो अभियान सुरु गरेकी छन् । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि गठबन्धनले संयुक्त पार्टी कार्यालय स्थापना गरी चुनावी अभियान थालेका हुन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्