भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो !


 



चितवन, जेठ २६
मतगणनाका क्रममा विवाद भएर स्थिगित पश्चात बाँकी रहेका मतपत्रको सुरक्षाका लागि ढाडे बिरालो खटाइएको छ ।

स्थानीय तह निर्वाचनको विषयलाई लिएर भरतपुर महानगरपालिका निकै चर्चामा रहेका बेला मतपत्रको सुरक्षाका लागि बिरालो नै सुरक्षामा राखेपछि झन चर्चामा आएको छ । राजधानी दैनिकमा खबर छ।

मतपरिणामको उत्सुकतासँगै गणनाका क्रममा दलहरूले गर्ने लफडाले पनि भरतपुरले सबैको ध्यान तान्यो। झन् गणनाका क्रममा मतपत्र च्यातिएपछि त यो विषय संसद् र न्यायालयसम्म पुग्यो।

अहिले मत पत्रको सुरक्षाको विषय चर्चामा छ । ठूलो संख्यामा प्रहरी त परिचालन गरिएपनि थप सुरक्षाका लागि बिरालो खटाइएको छ । कभर्डहलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको छ। महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन्।

तर, भवनभित्र रहेका मतपत्रलाई मुसाबाट जोगाउन बिरालाले सहयोग गरिरहेको छ। मतपत्र गणना गर्ने क्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले घेरिएर राखेको छ। २९ वडाका मतपत्र, लामो समयसम्म लगाएर गणना गर्दा गणक बसेका कपडालगायतका सामग्री हलभित्र छन्।

मतपत्र च्यातिएपछि स्थागित भएको गणनास्थल मुचुल्का उठाउन र च्यातिएको संख्या गणना गर्न एक दिन एकैछिनका लागि खोलिए पनि भवन खुला भएको छैन। भवनको मूल गेटमा ताला लगाइएको छ।

मुसाका कारण मतपत्र असुरक्षित महसुस भएकाले दुईवटा बिरालोलाई हलभित्र जाने आउने वातावरण बनाइएको छ। बिरालाकै कारण मुसाबाट मतपत्र सुरक्षित भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए।

गणनास्थलनजिकै रहेको होटलमा रहेका बिरालालाई मतपत्र भएको हलभित्र जाने वातावरण बनाएको उनले बताए। दलका प्रतिनिधिहरू पनि रातको समयमा मतपत्र सुरक्षाका लागि कभर्डहलबाहिर बस्ने गरेका छन्। गत १४ जेठको राति भरतपुर–१९ को मतपत्र च्यातिएपछि भरतपुर–१९ र २० को गणना हुन बाँकी मत सुरक्षित राखिएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्