श्रीकृष्णका १० सुपरहिट फिल्म


 


अभिनेता श्रीकृष्ण श्रेष्ठ हामीमाझ छैनन् । तर, उनका फिल्मले उनलाई अमर राखेका छन् । ०४५ सालमा बनेको भुमरी फिल्मबाट ठूलो पर्दामा पाइला राखेका उनले ०४९ मा बनेको नाता फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका थिए । त्यसपछि उनले झन्डै तीन दर्जन ठूलो पर्दाका फिल्ममा अभिनय गरे । कहाँ भेटिएला र कोहिनूर दुईटा फिल्म निर्माण गरे । गत वर्ष ०७१ साउन २४ गते उपचारका क्रममा उनको निधन भयो । उनले अभिनय गरेका अधिकांश फिल्म हिट छन् । तीमध्ये उनका १० हिट फिल्म यी हुन् भन्दै अाजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ

नाता

चेतन कार्कीको निर्देशनमा बनेको भुमरी फिल्ममा छोटो भूमिका निर्वाह गरेको भए पनि श्रीकृष्णलाई हिरोका रूपमा नाता फिल्मले चिनाएको हो । पुराना अभिनेता विश्व बस्नेतको निर्देशनमा छविराज ओझाले निर्माण गरेको नातामा उनले भुवन केसी र अशोक शर्माको भाइ लक्ष्मणको चरित्र निर्वाह गरेका छन् । अत्यन्तै सोझो र इमानदार भाइका रूपमा प्रस्तुत भएका श्रीकृष्णको जोडी गीताञ्जली सुनुवार छिन् । निर्माता छविराजकी पत्नी रहेकी गीताञ्जलीले डेढ दशकअघि नै आत्महत्या गरेकी थिइन् ।

ट्रक ड्राइभर

श्रीकृष्णले अभिनय गरेको ट्रक ड्राइभर अर्काे हिट फिल्म हो । अशोक शर्माले निर्माण गरेको यो फिल्ममा श्रीकृष्णले नृत्य गरेको मेरी पुतली बोलको गीत निकै चर्चित थियो । फिल्ममा श्रीकृष्णबाहेक शिव श्रेष्ठ, करिश्मा मानन्धर, विजय लामा, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतले अभिनय गरेका छन् । यो फिल्मले श्रीकृष्णलाई चुलबुले हिरोका रूपमा समेत परिचित गरायो ।

आफन्त

नेपाली फिल्मका दर्शकले सायदै भुल्दैनन् आफन्तलाई । स्व. निर्देशक शिव रेग्मीको निर्देशनमा बनेको आफन्तमा श्रीकृष्ण एकोहोरो प्रेमीको भूमिकामा छन् । बलात्कृत नारीको पीडामाथि बनेको फिल्ममा उनलाई निरुता सिंहले साथ दिएकी छिन् । शिव रेग्मी निर्देशित पहिलो फिल्म आफन्त श्रीकृष्णको करिअरमा ठूलो महत्त्व राखेको फिल्म हो ।

अजम्बरी नाता

प्रदीप श्रेष्ठको निर्देशनमा छविराज ओझाले निर्माण गरेको अजम्बरी नातामा श्रीकृष्णले निकै यादगार अभिनय गरेका छन् । मदिराप्रेमी ट्रक ड्राइभरको भूमिका निर्वाह गरेका श्रीकृष्णलाई यो फिल्मले कुशल अभिनेताका रूपमा अझ पुष्टि गरेको थियो । फिल्ममा उनी चार सन्तानका पिता हुन्छन् । अनियन्त्रित र नियमित मदिरा सेवनका कारण अकाल मृत्य भएपछि उनका सन्तानको बिचल्ली हुन्छ । ‘चाइल्ड एडप्टेसन’को मूल कथा रहेको फिल्ममा श्रीकृष्णका साथमा राजेश हमाल, निरुता सिंह, नीता ढुंगानालगायतले अभिनय गरेका छन् ।

आफ्नो मान्छे

शिव रेग्मीको निर्देशनमा केशव भट्टराईले निर्माण गरेको ब्लकबस्टर फिल्म हो– आफ्नो मान्छे । थुप्रै हलमा प्रदर्शनको एक सय दिन मनाएको आफ्नो मान्छेमा श्रीकृष्ण जेहेन्दार र स्वाभिमानी युवाको भूमिकामा छन् । उनको जोडी छिन्– निरुता सिंह । धनी र गरिबबीच विचार बेमेलको कथामा बनेको फिल्मको चट्ट रुमाल क्या मालुम, जिन्दगीको गोरेटोमा..लगायत बोलका गीत औधी हिट थिए । फिल्ममा दिलीप रायमाझी, सुशीला रायमाझी र रेजिना उप्रेती पनि प्रमुख भूमिकामा छन् । श्रीकृष्णलाई अभिनेताका रूपमा बेग्लै उचाइ दिलाएको फिल्म हो यो ।

सुख–दु:ख

श्रीकृष्णको अर्काे ब्लकबस्टर फिल्म हो– सुख–दु:ख । शिव रेग्मीकै निर्देशनमा बनेको यो फिल्ममा बाबुआमालाई माया गर्नुपर्छ भन्ने सन्देश प्रस्तुत गरिएको छ । मदनकृष्ण श्रेष्ठ र झरना थापा मुख्य भूमिकामा रहेको फिल्ममा श्रीकृष्ण हजुरबुबाको प्यारो नातिको भूमिकामा छन् । फिल्मको बगैँचामा नजाऊ तिमी बोलको गीत निकै हिट भएको थियो ।

ए मेरो हजुर

शिव रेग्मीकै निर्देशनमा बनेको लभस्टोरी फिल्म ए मेरो हजुरमा श्रीकृष्ण एकोहोरो प्रेमीको भूमिकामा छन् । दृष्टि गुमाएकी युवतीको सेवामा अहोरात्र खटिने उनले जस भने पाउँदैनन् । जब वास्तविकता प्रस्टिन्छ, तब मात्रै उनको त्याग र समर्पणप्रति युवती नतमस्तक हुन्छे । झरना थापाले निर्माण गरेको फिल्मको फूलको थुंगा हौ कि बोलको गीत निकै हिट थियो । झरना आफ्नो यो फिल्मको सिक्वेल बनाउने तयारीमा थिइन् । तर, श्रीकृष्णको स्वर्गारोहणले अन्योलमा छिन् ।

हामी तीन भाइ

श्रीकृष्ण अभिनीत अर्काे ब्लकबस्टर फिल्म हो–हामी तीन भाइ । यो फिल्म पनि शिव रेग्मीको निर्देशनमा बनेको हो । फिल्ममा श्रीकृष्ण, राजेश हमाल र निखिल उप्रेती भाइभाइ बनेका छन् । यो फिल्मका सबै गीत– तिर्खा लागे निरमाया, चरीको गुँड रुखैमा भए, बाजा बजाउँदै, मलाई यो जिन्दगीले चोट दियो गनीगनी हिट भएका थिए । फिल्ममा श्रीकृष्णको जोडी झरना थापा छिन् ।

कहाँ भेटिएला

श्रीकृष्णले निर्माण गरेको ब्लकबस्टर फिल्म हो– कहाँ भेटिएला । ०६६ सालमा निर्माण भएको यो फिल्मको निर्देशक पनि शिव रेग्मी हुन् । यही फिल्मका लागि हिरोइन खोज्ने क्रममा श्रीकृष्णले श्वेतालाई भेट्टाएका थिए । थुप्रै हलमा व्यावसायिक रेकर्ड राखेको कहाँ भेटिएलाका कहाँ भेटिएला, यी ओठमा, बाँधी राख न बोलका गीत लोकप्रिय छन् । यो फिल्मले श्रीकृष्णलाई कुशल अभिनेता मात्र होइन, कुशल निर्माताका रूपमा समेत स्थापित गराएको थियो ।

कोहिनूर

आकाश अधिकारीको निर्देशनमा श्रीकृष्णले निर्माण गरेको दोस्रो तथा अन्तिम फिल्म कोहिनूर नेपाली फिल्मको इतिहासमै सर्वाधिक व्यवसाय गरेको फिल्म हो । कोहिनूर गत साउन २३ गते रिलिज भएको थियो ।

तर, अपशोच फिल्म रिलिजको दोस्रो दिनमा श्रीकृष्णको स्वर्गारोहण भयो । फिल्ममा उनी समर्पित प्रेमीको भूमिकामा छन् । स्वदेशलगायत भारतको मुम्बईमा समेत सुटिङ गरिएको कोहिनूरमा श्रीकृष्णका साथमा उनकी पत्नी अभिनेत्री श्वेता खड्का प्रमुख भूमिकामा छिन् । कोहिनूरको के म तिम्रो हैन र तथा आए हो महेफिलमे बोलका गीत अहिले पनि उत्तिकै चर्चित छन् ।

प्रकाशित मिति: २४ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्