राजपालाई लक्षित गर्दै निधिले भने, ‘अब कसैको ताकतले चुनाव रोक्न सक्दैन’


 



चितवन, असार ६
नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले अब कसैको ताकतले पनि चुनाव रोक्न नसक्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई लक्षित गर्दै उनले चुनाव रोक्न सक्ने शक्ति र आँट कसैको नभएको बताए ।

आज विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले २ नम्बर प्रदेशको चुनाव पनि राजपाको समझदारीमा नै सारिएको खुलासा गरे । उनले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताए ।

दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताउनुभयो ।

एक फरक प्रसङ्गमा बोल्दै नेता निधिले भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने बताए ।
निर्वाचन आयोगले पुनः मतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने भएकाले सबैलाई निर्वाचनमा जुट्न आग्रह गरे ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्