पातलमै छ ‘पातले गुफा’


 


भोजपुर, असार ३०patale gufa
यहाँको सदरमुकामबाट पूर्व सात कोष पैदल दुरीमा चम्पे गाविस पर्छ । त्यही गाविसको वडा नम्बर ८ मा एउटा गुफा छ, जुन गुफालाई पातले गुफाको रुपमा थोरै स्थानीयले चिन्छन् ।

यो गुफालाई यहाँका अधिकतर स्थानीयले चिनेका छैनन् । बाहिरबाट आउने सर्वसाधरण यसको बारेमा चासो राखे पनि स्थानीयका लागि यो गुफा चासोको विषय बन्न सकेको छैन् ।

जसले प्राकृतिक एंव धार्मिक रुपमा महत्व बोेकेको गुफा ओझेलमा परेको छ । गुफा नजिकबाट नियाल्न पुग्दा गुफाको प्रबेश द्वारमा सानो मन्दिर बनेको छ भने अन्य कुनै काम भएको देखिदैन् ।

गुफाको संरक्षण, प्रचारप्रसार र व्यवस्थापनमा कसैले पनि चासो नदिँदा गाविसकै अधिकांश मानिसलाई समेत गुफाको बारेमा जानकारी छैन । धार्मिक तथा ऐतिहासिक महत्व र पौराणिक कहानी बोकेको पातले गुफा गुफा भित्रै छ ।

गुफाको संरक्षण तथा प्रचारप्रसारमा न स्थानीयबासीले चासो दिएका छन्, न त सरकारी निकायले नै कुनै पहल थालेका छन् । ‘नजिकको तिर्थ हेला’ जस्तै बनेको पातले गुफाको वरिपरी पर्खाल लगाउन गाविसले केही वर्ष अगाडि रकम उपलव्ध गराएको थियो ।

गाविसले त्यसबाहेक सहयोग गरेको छैन् । गुफासगै सिर्मुने डाँडा, ओखले दह अर्को आकर्षणको रुपमा रहेका छन् । तर त्यस तर्फ कसैको ध्यान नपुग्दा त्यो पनि लोप हुँदै गईरहेको छ ।

गुफा संरक्षणका लागि कुनै संरक्षण समिति बनेको छैन् । यस क्षेत्रमा रहेको पातले सामुदायिक वन उपभोक्ता समितिले सामान्य रेखदेख बाहेक गुफाको संरक्षणका लागि ठोस काम हुन सकेको छैन् ।

यो ठाउँमा २०६२ साल देखि वर्षमा दुई पटक बाला चतुर्दशी र रामनवमीमा मेला लाग्न थालेको छ । मेला लगाउन स्थानीय मगर समुदायका महिलाहरुको सक्रिय भएका छन् ।

मेलामा चम्पे, प्याउली, याङ्गपाङ, चरम्वी र अन्य गाविसबाट मानिसहरु सहभागी हुने गरेको स्थानीय बताउँछन् । पौराणिक महत्व र धरोहर बोकेको पातले गुफालाई संरक्षण गरी यसको महत्वलाई प्रचार प्रसार गर्नसके आन्तरिक तथा वाह्य पर्यटक भित्राउने सकिने यस ठाउँकका स्थानीय बताउँछन् ।

तर स्वंयम उनीहरुले प्रचार प्रसार गर्न भने सकेका छैनन् । गाउँकै सम्पत्तिको रुपमा रहेको गुफालाई चिनाउन सके आर्थिक उपार्जनमा टेवा पुग्ने स्थानीय सिताराम आचार्यको भनाई छ ।

गुफाको पौराणिक कहानी

patale gufa 2गुफाको उत्पति कहिले भयो ? भन्नेवारेमा कसैलाई हेक्का नभएपनि स्थानीय बुढापाकाहरु भने सत्य युगमै गुफाको उत्पति भएको हुन सक्ने बताउँछन् । सत्य युगमा महादेवले पार्वतीलाई झुक्याउन जमिनभित्र गुफा बनाई लुक्ने क्रममा पातले गुफा बनेको स्थानीय बृद्ध मगरहरु दावी गर्छन् ।

करिव सय वर्ष अगाडिसम्म पातले गुफामा एकजना स्थानीय एस्माली मगरले गुफाभित्र पसेर नियमित रुपमा पूजापाठ गर्ने गर्दथे । ती मगर पूजा गर्न गुफामा पस्दा एक दिन बाघ सुतिरहेको फेला पारे ।

त्यसै दिनदेखि ति एस्माली मगरले गुफामा पूजा गर्न बन्द गरेको स्थानीयको भनाई छ । बाघ बसेको घटनापछि गोठालेहरुले गुफा भित्र ढुङ्गा हान्ने गरे पनि त्यहाभित्र पस्ने आँट भने कसैले गर्न सकेका थिएनन् ।

ढुङगा हान्दा निकै तलसम्म खस्ने गरेको स्थानीयहरुको अनुुभव छ । लगातार ढुंगा खसाल्दा र बाढी आएर गुफामा पसेपछि गुफाको गहिराई घटेको स्थानीयको ठम्याई छ ।

पातले गुफा पस्ने बाटो सोझो र करिव ८ मिटर गहिरो छ । ८ मिटर गहिराईमा पसेपछि पुर्व दिशामा करिव १५ मिटर भित्रसम्म जान सकिने सुरुङ्ग छ । त्यसपछिको सुरुङ्ग सानो भएकाले त्यहाँबाट भित्र भने जान सकिन्न ।

मानिस पुग्ने अन्तिम ठाउँमा पूजा गर्ने गरिन्छ । गुफाबाट फर्कंदा सिधा निक्लने सुरुङ्ग भन्दा तेर्साे पश्चिममा १० मिटर तेर्सिन सकिने द्धार पनि छ ।

एकदिन गोठालेहरुले चराउने क्रममा हराएको बाख्रा खोज्दै जाँदा गुफा भित्र पसेको पत्ता लगाएपछि वाख्रालाई निकाल्न उनीहरु गुफामा पसेका थिए । गोठालाहरु गुफामा पसेपछि भने गाउँलेहरु पनि गुफाभित्र पस्न थालेका हुन् ।

patale gufa 1

प्रकाशित मिति: ३० असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्