नेपाल आज स्कटल्याण्डसँग खेल्दै


 


काठमाडौं, साउन १३

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत बुधबार स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा हुनेछ ।

आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टोली यो खेलमा राम्रो प्रदर्शन गर्दै आफ्नो साख जोगाउने तयारीमा छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटमा अमेरिकालाई ६ विकेटले हराउनु बाहेक नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।

प्रतियोगितामा नेपाल र स्कटल्याण्ड फरक फरक समुहमा रहेकाले खेल भएको थिएन । स्कटल्याण्ड भने अर्को वर्ष भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्कपका लागि छनौट मात्रै भएन नेरदल्याण्डसँगै संयुक्त रुपमा प्रतियोगिताको विजेता पनि बन्यो ।

१४ देश सहभागी प्रतियोगितामा १३ औं भएको नेपालका लागि बुधबारको खेल त्यती सहज छैन । तर यो खेल जित्दै निराशाजनक बनेको युरोप भ्रमणलाई केही भएपनि उपलब्धी मुलक बनाउने नेपाली टिमका लागि अन्तिम अवसर हो ।

गएको पाँच हप्ता भन्दा धेरै समयदेखि युरोपमा रहेको नेपाली टोलीले ट्वेन्टी–ट्वेन्टी विश्वकप अघि नेदरल्याण्डसँग भएको चार ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला ३–१ ले गुमाएको थियो । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटमा राम्रो प्रदर्शन नगरेका ब्याट्सम्यानद्वय सुवास खकुरेल र विनोद भण्डारी स्कटल्याण्ड विरुद्धको खेलमा हुने छैनन् ।

यस्तै अलराउन्डर सागर पुन चोटका कारण नखेल्ने भएका छन् भने जितेन्द्र मुखिया स्वदेश फर्किसकेका छन् ।सुवास र विनोदको अनुपस्थितिमा महेश क्षेत्रीले ब्याटिङ गर्नेछन् । च्याम्पियनसिप सन् २०१९ मा हुने विश्वकप छनौटको आधार हो । च्याम्पियनसिपमा सहभागी ८ मध्ये शीर्ष ६ टोली दोस्रो चरणमा पुग्ने छन् ।

प्रकाशित मिति: १३ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्