कस्तो होला यसपालीको प्रिमियर लिग ?


 


ligeलन्डन, साउन १७

इङ्ल्यान्डको प्रिमियर लिग विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक हो। अगस्ट ८ बाट २४ औं संस्करण सुरु हुने प्रिमियर लिग रोमाञ्चमा जस्तै अनुमान गर्न सकिनेमा पनि पहिलो होला त?

गत सिजनमा न्युक्यासल युनाइटेड र एभर्टनमात्र अंकतालिकामा अपेक्षा गरिएभन्दा तल परे। अन्यथा पहिलो सिजन प्रिमियर लिग खेल्ने बित्तिकै बढुवा भएर आएका तीनमध्ये दुई टोली च्याम्पियनसिपमा फर्किए। १२ महिनापछि लागूहुने गरी गरिएको ७ अर्ब ७७ करोड डलरको घरेलु टेलिभिजन प्रसारण सम्झौताका कारण शीर्ष ६ मा नरहेका क्लबको एउटै उद्देश्य रेलिगेसन टार्ने मात्र हुनेछ। सँगै अन्तर्राष्ट्रिय टेलिभिजन प्रसारण सम्झौताले त्यत्तिकै मात्रामा रकम थपिने भएकाले युरोपका लागि छनोट हुन नसक्ने टोलीका लागि शीर्ष डिभिजनमा टिक्नु नै ठूलो लक्ष्य भएको छ।

उपाधि कब्जा गर्नेको ठ्याक्कै नाम मिलाउन नसके पनि त्यसका मुख्य प्रतिस्पर्धी इङ्ल्यान्डमा सिजन सुरु हुनुपूर्व नै अनुमान लगाउन गाह्रो छैन। २००९ मा सर एलेक्स फर्गुसनको नेतृत्वमा उपाधिको ह्याटि्रक गर्ने क्रममा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार दोस्रोपल्ट उपाधि जितेको थियो। त्यसयता अरु कुनै टोलीले प्रिमियर लिगमा लगातार उपाधि जितेका छैनन्।

२०१३ मा स्कटिस प्रशिक्षकले संन्यास लिएपछिका दुई सिजन ओल्ड ट्राफोर्डको क्लब उपाधि दाबेदारीमा पछि पर्दै आएको छ। फर्गुसनले छोडेपछिको पहिलो सिजनमा सातौं भएको युनाइटेड अघिल्लो सिजनमा चौथो भएको थियो। यसबीचमा टोलीले थुप्रै पैसा खर्चिए पनि सफलता पाउन सकेन। यसपालि नयाँ सिजन सुरु हुनुपूर्व पनि वर्तमान प्रशिक्षक लुइस भान हालले टिम पुनर्निर्माणको प्रक्रियालाई निरन्तरता दिएका छन्।

जर्मनीका कप्तान बास्टियन स्वास्न्टाइगरलाई बायर्न म्युनिखबाट ल्याएको टोलीले साउथह्याम्पटनबाट फ्रान्सेली स्टार मोर्गान स्नाइडर्लिनलाई भिœयाएर मिडफिल्ड बलियो बनाउने प्रयास गरेको छ। जसले गर्दा डच प्रशिक्षकले वाइन रुनीलाई उनको प्रिय पोजिसन एकल स्ट्राइकरका रूपमा प्रयोग गर्ने अनुमति मिलेको छ। आफ्नो प्रिय पोजिसनबाट खेल्न पाउने भएपछि आउँदो सिजनको समाप्तिसम्म रुनीले इङ्ल्यान्ड र युनाइटेडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीमा बबी चल्टर्नले बनाएको कीर्तिमान उछिन्नुपर्नेछ। अघिल्लो सिजनको तेस्रो खेलबाट टोलीको नेतृत्व थालेर सिजन सकिँदा साबिक विजेता म्यानचेस्टर सिटीलाई ८ अंकले पछि पार्न सफल प्रशिक्षक भान हाल यसपालि चेल्सीबाट उपाधि खोस्न सके अझै खुसी हुनेछन्।

मे महिनामा गत सिजन समाप्तीको तरखरमा रहँदा जोजे माउरिन्होको टोलीले प्रतिस्पर्धीलाई धेरै पछाडि छोडेको थियो। टेलिभिजन पण्डित तथा युनाइटेडका पूर्वरक्षक ग्यारी नेभिलले केही खेल बाँकी रहँदै त्यतिखेर भनेका थिए, ‘यो चेल्सी टोलीभन्दा अरु थुप्रै माइल पछि छन्।’

युनाइटेड, सिटी, आर्सनल र लिभरपुल सबैले सरुवा बजारको चलखेलबाट चेल्सीसँगको दुरी कम गर्ने प्रयास गरेका छन्। चेल्सीले भने गत सिजन युनाइटेडबाट खासै प्रदर्शन गर्न नसकेका कोलम्बियाली फरवार्ड राडामेल फाल्काओ र दोस्रो रोजाइको गोलकिपरका रूपमा पिटर चेकको ठाउँमा स्टोकबाट अस्मिर बेगोभिकलाई भिœयाउनु बाहेक सरुवा बजारमा उल्लेख्य केही गरेको छैन।

२०१२ को युइएफए सुपर कप फाइनलमा एट्लेटिको मड्रिडबाट आफैविरुद्ध ह्याटि्रक गरेपछि चेल्सीका कप्तान फाल्काओसँग प्रभावित भएका थिए। त्यसैले गत सिजन युनाइटेडले जस्तै यसपालि चेल्सीले पनि राम्रो पुनरागमनको आशमा फाल्काओलाई मोनाकोबाट लोनमा ल्याएको हो।

गत सिजनमा सिटीले चेल्सीभन्दा १० गोल बढी गरेको थियो। सिटी यसपल्ट पनि गोल गर्ने क्षमतालाई निरन्तरता दिन चाहन्छ। लिभरपुलबाट इङ्ल्यान्डका अन्तर्राष्ट्रिय स्टार रहिम स्टर्लिङलाई ७ करोड ६१ लाख ६० हजार डलरमा भिœयाएपछि टोलीले थप गोलको आश गरेको छ। गत सिजनमा सिटीले ८३ गोल गरेको थियो। जुन लिभरपुलभन्दा ३१ गोल बढी हो। लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्सले कमजोर स्कोरिङ फर्ममा सुधार ल्याउनका लागि फरवार्ड भिœयाउनेमा जोड दिएका छन्। उनले एस्टन भिल्लाबाट क्रिस्टियन बेंकेटे, होफेनहेइमबाट ब्राजिली स्ट्राइकर रोबर्टो फिर्मिन्हो तथा रेलिगेसनमा परेको बर्नलीबाट ड्यानी इङ्ग्सलाई भिœयाइसकेका छन्।

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले भने गत सिजनमा एफए कप उपाधि रक्षा गर्नुका साथै प्रिमियर लिगको शीर्ष तीनमा पर्न सफल टोलीमा खासै सुधार आवश्यक देखेका छैनन। तथापि उनले चेल्सीका अनुभवी गोलकिपर पिटर चेकलाई भने इमिरेट्स रंगशाला ल्याएका छन्।

नवप्रवेशी वाटफोर्ड, बोर्नमाउथ र नर्बिच सिटी यसपालि पनि रेलिगेसनका मुख्य दाबेदार हुन्। उनीहरूसँग गत सिजनमा मुस्किलले रेलिगेसनबाट जोगिएका भिल्ला, सन्डरल्यान्ड र लिचेस्टर सिटीले हैसियत जोगाउने प्रतिस्पर्धामा यिनीहरूलाई साथ दिनेछन्।

नागरिकन्युजबाट

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्