गर्भवती भएको मोबाइलबाटै थाह हुने


 


 

 

बैतडी, पुस १४

बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ ।

मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो ।

प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिनुभयो ।

पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ उहाँले भन्नुभयो “अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्य शुरु भएको छ ।”

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थनर्स ममता जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो “मातृदर र बालमृत्युदर घटाउन यो कार्यक्रमले सहयोग पुग्नेछ” ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्