शिविरमा १९ जना बिरामीको निःशुल्क शल्यक्रिया


 


रुकुम, १७ पुस
रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको आयोजनामा सञ्चालन भएको शिविर एक महिनासम्म सञ्चालन हुने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी, आगोले पोलेर शरीर अंगभंग भएको, महिलाको पाठेघर तथा पेटसम्बन्धी समस्या भएका बिरामीको शल्यक्रिया भइरहेको उहाँले बताउनुभयो ।

आर्थिक अभावले गर्दा जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने बिरामीका लागि शिविरले राहत दिएको बिरामीको भनाइ छ । शिविरमा डा. एन शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाका जटिल समस्या भएका बिरामीले उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्