कुपोषित बालबालिकाको उपचार गर्न झापा ओटिसी सेन्टर स्थापना


 


झापा, पुस १८
कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न ओटिसी सेन्टर स्थापना गरिएको छ ।

जिल्लाको १५ वटै स्थानीय तहमा ओटिसी सेन्टर स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयवासीको घरदैलोमै गएर पाँच वर्षमुनिका कुपोषणको शिकार भएका बालबालिकाको पहिचान गरी शीघ्र उपचार गरिने छ ।

“कुपोषणको शिकार भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरेर उपचार गरिने छ”, उहाँले भन्नुभयो, “१५ दिन, एक महिना वा अवस्थाअनुसार सोभन्दा बढी पनि हुन सक्छ ।”

कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना (आरयुटिएफ) खुवाइने जनस्वास्थ्य प्रमुख कोइरालाले बताउनुभयो । “शरीरलाई आवश्यक सबै पोषक तत्व मिसिएको तयारी खाना बालबालिकालाई दिइनेछ”, उहाँले भन्नुभयो, “एउटा बच्चालाई दिनमा दुई प्याकेट पोशिलो खाना दिइन्छ ।”

झापाका बाढी प्रभावित क्षेत्रका बालबालिकालाई प्राथमिकतामा राखिएको छ । बाढी प्रभावित कचनकवल गाउँपालिकाको बनियानी क्षेत्रमा ३० कुपोषित बालबालिकाको पहिचान गरिसकिएको प्रमुख कोइरालाले बताउनुभयो । हाल ३५० बालबालिकाको उपचार गर्ने लक्ष्य भए पनि आवश्यकताअनुसार थपघट हुनसक्ने जनाइएको छ ।

त्यस्तै, ओटिसी सेन्टर सञ्चालनका लागि २५० स्वास्थ्यकर्मीलाई तालीम समेत दिइएको छ । तालीम प्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्ने छन् ।

ओटिसी सेन्टरमा उपचार सम्भव नभए अन्य अस्पतालमा उपचारका लागि पठाइने प्रमुख कोइरालाले बताउनुभयो । “मेची अञ्चल अस्पताल वा अन्य कुनै अस्पतालमा थप उपचारका लागि पठाइनेछ”, उहाँले भन्नुभयो ।

सो कार्यक्रम उक्त कार्यालयको समन्वय र युनिसेफको सहयोगमा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्