भाइरल पत्ता लगाउन नमूना संकलन, स्वाइनफ्लुको भाइरस फैलिएको आशंका
–भोजराज कार्की
सोलुखुम्बु, माघ ६
महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको र्यापीड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । अहिले घरघरमा पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ ।
शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको छ ।” उक्त गाउँमा हरेक घरमा सुँगुर र कुखुरापालन हुने गरेको र केही दिनअघि सुँगर र कुखुरा बिरामी भएर मरेकाले त्यसबाट स्वाइनफ्लुको भाइरस फैलिएको आशंका गरिएको हो ।