माओवादीका यी तीन नेताले पाए राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मेवारी



काठमाडौं, माघ ८
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

नेकपा (एमाले) सँग संयुक्त रुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवार मात्र उठाउने भएको छ ।

प्रदेश इञ्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीन तीन जनाको दरले सिफारिश गर्न दिइएको निर्देशनअनुसार आज सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै भुसालले मंगलबार उम्मेदवारको टुंगो लाग्ने बताउनुभयो ।

एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइने सहमति दुईदलीय कार्यदलले गरेको छ । सोही आधारमा सबै वर्ग र क्षेत्र मिलाएर उम्मेदवार छनोट गरिने भुसालको भनाइ छ ।

पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, शहीद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राखिने माओवादी केन्द्रले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटका लागि एमालेको पनि स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News