मोरङमा देशकै होची महिला फेला, नागरिकता बिना दिइयो सामाजिक सुरक्षा भत्ता



मोरङ, माघ  १६

मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।

सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ ।

उहाँको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध गराउने बताउनुभयो ।

मालतीको जन्म २०५६ भदौ १८ गते भएको हो । २०६२ जेठ ३० मा उनले जन्मदर्ता बनाएकी हुन् । बुबा रमेशप्रसाद मुरर र आमा मीनादेवी मुरर दुवैको जन्मसिद्ध नागरिकता छ । तर मालतीको नागरिकता छैन ।

सरकारले केही समयका लागि जन्मसिद्ध नागरिकता वितरण कार्य रोकेको छ । जन्मसिद्ध नागरिकता वितरण प्रक्रिया सुचारु भएपछि मालतीलाई नागरिकता उपलब्ध गराउने प्रमुख ढकालले बताउनुभयो ।

उहाँले जबसम्म मालतीको नागरिकता बन्दैन तबसम्म नगरपालिकाको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिकरुपमा रु दुई हजार उपलब्ध गराउने बताउनुभयो ।

तीन सन्तानका पिता रमेशप्रसाद मुररको घर सुन्दर हरैँचा–४ को सुकुम्वासी बस्तीमा छ । खान बस्नको समस्या भएका कारण छोरी मालतीको उचाइ बढाउने गरी औषधोपचार र शिक्षाको व्यवस्था गर्न नसकिएको मुररले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News