प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट



जनकपुरधाम, १८ माघ

यही माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे आज सर्वदलीय बैठक सम्पन्न भयो ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा भएको सो बैठकमा मर्यादापालक र प्रदेशसभा सदस्यको पोशाक, भाषा, सिट निर्धारण, अध्यक्षमण्डलको मनोनयन, अन्तरिम कार्यविधि, दर्शक र विशेष पास, नियमावली मस्यौदा समिति गठन, कार्य व्यवस्था परामर्श, सभामुखको निर्वाचन, परिचयपत्र र प्रतीकचिह्नलगायत विषयमा छलफल भएको थियो ।

सङ्घीय संसद् सचिवालयबाट प्रदेशसभालाई व्यवस्थित र सहयोग गर्न यहाँ आउनुभएका टोलीका नेतृत्वकर्ता वंशीराज पौडेलले बैठकले प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, बण्डी वा प्रदेशको मौलिक पहिरन र मर्यादापालकलाई सफारी सुट निर्धारण गरेको जानकारी दिनुभयो ।

सरकारबाट प्रदेशसभाक लागि खटाइएका ३८ कर्मचारी नआएका कारण तत्काल स्थानीय कर्मचारीलाई नै प्रशिक्षित गरी प्रदेशसभा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को मस्यौदा विस्तृत अध्ययन गरी अर्को सर्वदलीय बैठकमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा दलका प्रतिनिधि र प्रदेशसभा सदस्यको समेत सहभागिता थियो । कार्यसूचीलाई अन्तिम रूप दिन अर्को सर्वदलीय बैठक यही माघ २० गते बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News