सुनको भाउ १४ सय घट्यो


 


काठमाडौं, भदाै १०

मंगलबारदेखि नेपाली बजारमा घट्न थालेको सुनको भाउ बिहीबारसम्म आइपुग्दा ३ व्यापार दिनमा प्रतितोला १४ सय रुपैयाँ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको साउन ८ गते करिब ४ वर्षयताकै न्यून मूल्यमा ओर्लिएको पँहेलो धातु सुन साउन २५ गतेसम्म(१७ दिन) प्रतितोला ४७ हजार देखि ४८ हजार रुपैयाँकै बीचमा रहेको थियो।

साउन २६ गतेबाट उकालो लाग्न थालेको सुनको भाउ भदौ ७ सम्म आइपुग्दा प्रतितोला ५१ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो। तर, भदौ ८ गते मंगलबारबाट ओरालो लागेको सुनको भाउ ३ व्यापार दिनमै १४ सयले घटेर प्रतितोला ५० हजार ५ सय रुपैयाँमा ओर्लिएको हो।

बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५० हजार ५ सय र तेजावी सुन प्रतितोला ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। गत मंगलबारदेखि चाँदी पनि सस्तिएको छ।

मंगलबारदेखि बिहीबारसम्म ४ व्यापार दिनमा चाँदी प्रतितोला ३० रुपैयाँले सस्तिएको छ। बिहीबार आन्तरिक बजारमा चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा बारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले सस्तो भएको छ।

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्