डिभिजन टू–फाइनलमा नेपाल ८ रनले पराजित


 


काठमाडौं, फागुन ३
विश्व क्रिकेट लीग डिभिजन टू को फाइनलमा नेपाल ८ रनले यूएईसंग पराजित भएको छ । कप्तान पारस खड्काले शतक हानेपनि नेपाल पराजित हुन पुगेको हो । यसअघि नेपालले समूह चरणमा यूएईलाई पराजित गरेको थियो ।

२७८ रनको लक्ष्यसहित मेदानमा उत्रेको नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा पारसले तीन छक्का हानेपनि अझै आठ रन अपुग भयो । जम्मा १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए ।

पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।

शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए भने आरिफ शेख ७ रनमा आउट भए । रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए ।

यसबाहेक अन्य बाट्सम्यानहरु टिक्न सकेनन् । हिजो नायक बनेका करण केसी ३ रनमा आउट भए भने सोमपाल कामीले ६ रन मात्र बनाउन सके । बसन्त रेग्मी ५ रनमा अविजित रहे ।

युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १र१ विकेट लिएका थिए ।

प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्