नेपालले जित्यो यु-१९ साफ च्याम्पियनसिपको उपाधि


 


भोजपुर भदाै १२

१९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । भारतलाई पेनाल्टी सुटअाउटमा ५-४ ले हराउँदै नेपालले लामो समयको उपाधि खडेरीलाई मेटाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा भएकाे प्रतियोगिता नेपालले जितेपछि अहिले सर्वत्र खुसियाली छाएको छ । यतिबेला पुरस्कार वितरण शुरु भएको छ ।

पेनाल्टी सुटआउटमा भारतको तर्फबाट पहिलो पटक पेनाल्टी प्रहार गर्ने खेलाडीले मिस गरेका थिए। खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा नेपालले उपाधि जित्नका लागि पेनाल्टी सुटआउटमा पुग्नुपरेको हो।

खेलको ३१ औं मिनेटमा तेज तामाङको गोलबाट नेपालले अग्रता लिएपनि भारतले ८५ औं मिनेटमा पेनाल्टीमा गोल फर्काएर बराबरी गरेको थियो। कर्नरमा पाएको बललाई अनन्त तामाङले हेड गरेका थिए तर भारतीय गोलकिपरले त्यसलाई नियन्त्रणमा लिन सकेनन्। रिबाउन्डमा तेज तामाङले बललाई पोस्टको दिशा दिए।

गोललगत्तै सर्ट फुकालेर खुसियाली मनाएका तेजले पहेँलो कार्ड खानुपर्‍यो। दोश्रो हाफको सुरुवातदेखि नै नेपालले दबाब बढाएपनि विमल घर्तीमगरले केही सुन्दर मौका गोलमा परिणत गर्न सकेका थिएनन्।

विमल बाहिरिएको केही बेरमा नै छिरिङ गुरुङले पेनाल्टी एरियामा हातले बल छुन पुगे र भारतले पेनाल्टीमा गोल गर्ने अवसर पायो। निर्धारित समयमा दुवै पक्षबाट १-१ गोल भएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो।

खेल हेर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल पनि पुगेका थिए। उपाधि जित्ने नेपाली टिमका सबै सदस्यलाई जनही १ लाख रुपैयाँ दिने मन्त्री पौडेलले बताइसकेका छन्।

प्रकाशित मिति: १२ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्