​नेपालले कुवेतलाई ८३ रनले हरायो


 


काठमाडौं, भदौ १५

एसीसी अण्डर नाइन्टिन प्रिमियर लिगको चौथौ खेलमा नेपालले कुवेतलाई ८३ रनले हराएको छ । मलेसियाका किनरारा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर  २ सय ५० रन वनाएको थियो ।

२ सय ५१ रनको लक्ष्य लिएर व्याटिङमा आएको कुवेत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रनमा समेटियो । कुवेतमा मोहमद मैजान अलीले नटआउट ८४ रन बनाए ।

नेपालका शुसील कंडेल र प्रेम तामाङले २ विकेट लिए ।  नेपालका लागि दीपेन्द्रसिहं ऐरीले सर्वाधिक ८५ रन वनाए । उनले २ छक्का र ९ चौका प्रहार गरेका थिए ।

यस्तै सौरभ खनालले १ छक्का र ५ चौका सहित ७३ रन वनाए भने प्रेम तामाङले नटआउट रहेर २३  रन वनाए । राजु रिजालले १५ र सुनिल धमलाले ११ रनको योगदान गरे भने नेपालले ३१ रन अतिरिक्त पाएको थियो जसमा ३० वटा वाइड थियो ।

कुवेतका मोहमद फौजीले ३ तथा शाहरुखले २ विकेट लिए । यो जितसँगै नेपाल ४ खेलवाट ६ अंक बनाएर दोश्रो स्थानमा छ । ४ वटै खेल जितेको अफगानिस्तान ८ अंक सहित पहिलो स्थानमा छ । अव नेपालले साउदी अरेवियासँग खेल्न बाँकी छ ।

प्रकाशित मिति: १५ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्