साउदीविरुद्ध नेपालको शानदार जित


 


काठमाडौै, भदाै १७

एसिसी अन्डर-१९ प्रिमियर लिगमा नेपालले साउदी अरबविरुद्ध ९ विकेटको शानदार जित हात पारेको छ। ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि सुनिल धमलाले अविजित ३४ रन बनाए। उनले २० बलमा ३ चौकार २ छक्का प्रहार गरे। त्यस्तै शंकर रानाले ४ र राजु रिजालले अविजित १४ रन बनाए।

यसअघि नेपाली बलरहरुले जादुयी प्रदर्शन गरेका थिए। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत साउदी अरबलाइ नेपालले ५५ रनमा अलअाउट गरेको हो।

टस जितेर ब्याटिङ रोजेको साउदी टोली नेपाली बलर सामु निरीह सावित भयो। नेपाली बलरहरुको धारिलो प्रहार सामना गर्न नसक्दा ३३.३ ओभरमा ५५ रन बनाएर साउदी अलआउट भएको हो।

१० ओभर फूल स्पेल बलिङ गरेका सुशील कँडेलले ९ मेडन ओभर राख्दै १२ रन दिएर ४ विकेट लिए। ६ ओभर बलिङ गरेका सुनिल धमालाले ३ ओभर मेडन राख्दै दुई साउदी ब्याट्सम्यानलाई पेभेलियन फर्काए। प्रेम तामाङको हातमा दुई विकेट पर्‍यो।

दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी तथा दीपेश श्रेष्ठले साउदी टोलीलाई धरासायी बनाउन अतिरिक्त भूमिका निर्वाह गरे।

प्रकाशित मिति: १७ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्