विद्यालय हिडेको किशोर एक सातादेखि बेपत्ता



लहान, १८ चैत

सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियाँका १४ वर्षीय किशोर सुशान्त दयाल एक सातादेखि बेपत्ता भएका छन् ।

गाउँ नजिकैको चैनपुर माविमा कक्षा ६ मा अध्ययनरत सुशान्त गत सोमबार बिहानदेखि बेपत्ता भएका हुन् । ‘विद्यालय जान्छु’ भन्दै घरबाट हिँडेका उनी आजसम्म घर नआउँदा परिवारका सदस्य चिन्तित बनेका छन् ।

बेपत्ता भएको भोलिपल्टै सुशान्तको खोजतलासका लागि इप्रका धनगढीमाईमा निवेदन दिएपनि अहिलेसम्म कुनै खबर नआएको किशोरका आमा रिमाले बताउनुभयो । सुशान्तका बुबा रामबाबु भने वैदेशिक रोजगारीमा छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले बेपत्ता सुशान्तको खोजी कार्यका लागि सबै प्रहरी कार्यालयमा पत्राचार गरी खोजी भइरहेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १८ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्