अव्यवस्थित घरटहरा भत्काइए
तेह्रथुम, २१ चैत । गाउँपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घरटहरा भत्काउन भनेपछि छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारका बासिन्दाले टहरा भत्काएका छन् ।
बजार क्षेत्रको सडक साँघुरो भएको भन्दै गाउँपालिकाले सडक मिचेर बनाइएका घरटहरा भत्काउन निर्देशन जारी गरेको थियो । गाउँपालिकाको निर्देशनपछि छथर गाउँपालिका–२ स्थित बजारका धामबहादुर कार्कीले घरसँग जोडिएको बार्दली हटाउनुभएको छ । यस्तै ध्रुव खुलाल, देशबहादुर कार्की, सुमन खुलाल, उमेश पोखरेल, पञ्चबहादुर लिम्बू र बलबहादुर तामाङले पनि सडक फराकिलो बनाउन सहयोग गर्दै बार्दली, बरण्डा र निर्माण भएका अन्य टहरा भत्काउनु भएको छ ।
गाउँपालिकाले बजार क्षेत्रका मुख्य सडकलाई १० मिटर र अन्य शाखा सडक सात मिटरका बनाउने भन्दै त्यसका लागि सहयोग गर्न सूचित गरेको थियो । सडक फराकिलो बनाउन बजारवासीले गाउँपालिकाको निर्णयको समर्थन गर्दै आफैँ आफूले बनाएका घरटहरा भत्काएका हुन् । रासस
प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार
















