षडानन्दको योगदानको यत्रो अपमान !



नेपालमा व्यवस्था परिवर्तन र जनताका नैसर्गिक हक अधिकारका स्थापना गर्नका लागि जसको कुनै योगदान छैन त्यसलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ । कुखुरा चोरलाई प्रहरीले समात्न खोज्दा उम्केर भाग्छ । भूमिगत गिरोहमा संलग्न हुन्छ ।

जघन्य अपराधमा उसको मुख्य भूमिका हुन्छ । प्रहरी इन्काउन्टरमा अपराधीको मृत्यु हुन्छ । शहिद घोषणा गर्न माग गर्दै नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिन्छ ।

sunil sapkota
सुनिल सापकोटा

आन्दोलनकारी शक्तिलाई सरकारले वार्ताका लागि आह्वान गर्छ । शहिद घोषणा नगरुन्जेल वार्तामा पनि नबस्ने र आन्दोलन पनि फिर्ता नलिने आन्दोलनकारीहरुको माग हुन्छ ।

अन्ततः सरकार एउटा कुखुरा चोर देखि जघन्य अपराध सम्म संलग्न कुख्यात अपराधीलाई शहिद घोषणा गर्न बाध्य हुन्छ । शहिदको मर्म विरुद्धको कर्म नेपालमा हुन् थालेको छ । के हो शहिद ? को हो शहिद ? यसको उचित परिभाषा गर्न जरुरी भैसकेको छ ।

जथाभावी हचुवाको भरमा शहिद घोषणा गर्दै जाने हो भने भोलि सबै नेपाली शहिद बन्ने निश्चित छ । यसले वास्तविक शहिदहरुको अपमान भएको छ ।

यहाँ पैसाका लागि ज्यान दिएर शहिद हुनेको फेसन चलेको छ । शहिदहरुको योगदानलाई पैसामा खरिद बिक्री गर्न थाले पछि यसको कुनै अर्थ र औचित्य रहदैन । गोली लाग्यो कि दश लाख झर्यो । (आजकाल त पचास लाखको कुरो चले जस्तो लाग्छ) ।

शहिदको मूल्य भनेको परिवर्तन हो ,योगदान र परिणाम हो ,पैसा होइन । तर नेपालमा पैसाका लागि शहिद बन्ने प्रतियोगिता हुन थालेको छ भन्दा फरक पर्दैन ।

शहिदको मूल्य भनेको पैसा हो भन्ने बुझेका हाम्रा राजनीतिक दलले यसको व्यापक दुरुपयोग गर्दैछन् । मर्नका लागि पैसाको प्रलोभन देखाएर मानवता विरुद्धको अपराध गर्दैछन ।

जहाँ पैसाका लागि मृत्युको बाटो रोजिन्छ भनेर विश्वमा सन्देश नजाओस । शहिदको सच्चा सम्मान त्यति बेला हुन्छ । जव शहिदले दिएको योगदानको कदर गर्दै शान्ति ,स्थायीत्व ,समृद्धि,अग्रगमन र परिवर्तनलाई संस्थागत विकास गरिन्छ ।

भोजपुरको दिङ्लामा जन्मिएका बाला गुरु षडानन्दले तत्कालीन जहाँनीया राणा शासनको जनविरोधी निर्णयलाई चुनौती दिँदै जनस्तरबाट नेपालमा नैं पहिलो विद्यालय खोलेर पठनपाठन सञ्चालन गरेका थिए ।

त्यस समयमा जनताका छोराछोरीलाई पढ्नका लागि पूर्ण रुपमा बन्देज लागाइएको थियो । शासक वर्गको नीति नै जनतालाई अशिक्षित बनाएर सहजै आफ्नो अभिष्ट पूरा गर्ने थियो ।

जनतालाई पढ्का लागि नै प्रतिवन्ध लगाइएको बेला विद्यालय खोल्नु भनेको त अत्यन्तै चुनौतीपूर्ण कार्य थियो । राणा शासनको बेला पढ्नु र विद्यालय खोल्नु भनेको मृत्युसँग संघर्ष गर्नु सरह थियो ।

त्यहीं समयमा षडानन्दले आफूलाई बलिमा चढाएर कठोर निर्णय लिंदै संस्कृतक पाठशाला स्थापना गरेर जनताको नैसर्गिक अधिकारका लागि जीवन आहुति दिनका लागि तयार भएको सन्देश शासक वर्गलाई दिए ।

गुरुले भोजपुरको दिङ्लाबाट नेपालमा शैक्षिक क्रान्तिको सुरुवात गरेर जनतालाई अधिकार लडेर लिनुपर्छ भन्ने कुरा सिकाए । त्यसकै परिणामस्वरुप अहिले नेपाली जनता आफ्नो अधिकारका लागि आवाज बुलन्द पार्न संसारकै नागरिकको दाँजोमा अग्र स्थानमा रहेका छन् ।

आम आदमीले पाठशाला खोल्ने कुरा राज्यको दृष्टिमा अपराध थियो भने आम मानिसका दृष्टिमा क्रान्तिकारी कदम थियो । हो, षडानन्दले अपराध गरेर क्रान्तिकारी कदम चालेका थिए ।

तत्कालिन शासकले मार्ने धम्की दिएर पाठशाला तत्काल बन्द गर्न आदेश दिँदा पनि उनि थाकेनन् । शासकलाई जवाफ फर्काए मृत्यु स्वीकार्न तयार छु ।

शासकहरुले जनतामाथि गरेको अन्याय र अत्याचारको भण्डाफोर गर्न सक्ने शिष्यहरु उत्पादन गर्छु अनि त्यसपछि कुरा गरौंला भन्ने व्यहोराको जवाफ पठाए । उनले खोलेको पाठशालामा शिक्षा र अलौकिक ज्ञान हासिल गर्नका लागि नेपालबाट मात्र नभएर भारत ,म्यानमार , श्रीलंका ,बंगलादेश लगायतका मुलुकबाट पनि विद्यार्थी आउने गरेका थिए ।

साच्चै भन्नुपर्दा भोजपुर नेपालको काशी थियो । शिक्षाको खानी र ज्ञानको भण्डार भएको ठाउँ थिए भन्दा अतियुक्ति नहोला ।

शिक्षा हराए काशी जानु भन्ने कथनलाई संशोधा गरेर शिक्षा हराए दिङ्ला जानु भन्ने अवस्था उनले ल्याएका थिए । उनले शिष्यहरुलाई संस्कृत मात्र नभएर राज्य परिवर्तन गर्न सक्ने क्षमता दिएका थिए ।

तिनै विद्यार्थीहरुले आफ्नो देशमा गएर मुलुकको विकास  परिवर्तनको लागि विशेष योगदान दिएका थिए । बलागुरुसँग रुमाल बिछ्याएर अरुण नदी तर्न सक्ने क्षमता भएको कुरा इतिहासबाट पुष्टि हुन्छ ।

गुरुले दिङ्लामा ल्याएर रोपेको रुद्राक्षको विरुवा अहिले आएर भोजपुर र संखुवासभामा प्रमुख आम्दानीको स्रोत बनेको छ । धार्मिक, सांस्कृतिक ,प्राकृतिक  र ऐतिहासिक महत्व बोकेको रुद्राक्षको फल त्यस क्षेत्रमा लाखौंमा कारोबार हुने गरेको छ ।

रुद्राक्ष अहिलेको प्रस्तावित प्रदेश एकको प्रमुख आम्दानीको स्रोत र विकासको आयाम बन्ने प्रवल सम्भावना छ । यसको संरक्षण गर्न राज्यले विशेष ध्यान दिनैपर्छ । किनकि यसले त्यस क्षेत्रमा दशौ अरबको योगदान गरेको छ ।

यसको आम्दानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीति राज्यले ल्याउनुपर्छ । नत्र यत्रो पैसा बिनाकारण  स्वाहा हुन् सक्छ र भइरहेको छ । यहाँका जनताले माल पाएर चाल पाउन सकेका छैनन् ।

राज्य माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्नका लागि विदेशीको पछाडि दौडिरहेको छ । यो संसारकै सस्तो र आकर्षण जलविद्युत आयोजना रुद्राक्षको आम्दानीबाट नै निर्माण सम्पन्न हुन् सक्छ ।

जलविद्युत परियोजना निर्माणका लागि लगानीकर्ता खोज्नका लागि भौतारिरहेको राज्यले स्थानीय लगानीमा निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन गरोस । रुद्राक्षको राजधानीका रुपमा परिचित दिङ्ला भोलिको प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्छ ।

उनै षडानन्दले दिङ्लालाई रुद्राक्षको राजधानीका रुपमा चिनाएका हुन् । नेपालमा शिक्षाका सुरुवात कर्ता महान व्यक्तित्व बाला गुरुलाई अहिलेसम्म राज्यले राष्ट्रिय विभूति घोषणा नगरेर उनले राष्ट्रलाई दिएको योगदानको अपमान गरिएको छ ।

षडानन्दको अपमान गर्नु भनेको नेपालको शैक्षिक इतिहास र शिक्षामा भएको पहिलो क्रान्तिको अपमान गर्नु हो । राणाहरुले जनताका छोराछोरीलाई पढ्नका लागि बन्देज गरेको कुरा सही थियो भनेर स्वीकार गर्नु हो ।

राज्यसँग दुईवटा विकल्प छ कि षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्ने ,कि क्रुर जानियाँ राणा शासनको पक्षपोषण गरेर उनको अपमान गर्ने ।

षडानन्दको सिताराम गुठीको नाममा सयौं रोपनी सम्पत्ति रहेको छ । त्यसबाट हरेक साल दशौँ लाख बराबरको आम्दानी हुन्छ । तर त्यो रकम कहाँ खर्च हुन्छ । थाहाँ पत्तो हुदैन ।

त्यत्रो पैसा गुठियारले  हिनामिना गर्दा समेत राज्य संयन्त्र बेखवर र निरिह बनेको छ । गुठीमा चरम हिनामिना हुँदा समेत राज्य संयन्त्र कानमा तेल हालेर बस्नु आफैमा शंकास्पद विषय हो । त्यो सम्पत्तिबाट आएको आम्दानी षडानन्द स्कुलको विकास र बिस्तारमा उपयोग हुनुपर्ने हो । तर यहाँ बाघको छालामा स्यालको रजाईं भएको छ ।

 भ्रष्टाचार नियन्त्रण गरेर पारदर्शिता कायम गर्ने निकाय अख्तियार समेत यो विषयमा मौन बसेको छ । गुरुको उदेश्यको अपमान गर्दै सम्पत्तिको आम्दानी हिनामिना गर्नु दु:खद कुरा हो । उनको सम्पत्ति उचित ठाउँमा प्रयोग हुनुपर्छ । अनि मात्र उनको आत्माले सन्तुष्टि प्राप्त गर्छ । षडानन्दको सम्पत्तिमा आफ्नो दुनो सोझ्याउनेहरु माथि छानविन गरि अख्तियार र नेपाल सरकारले हदैसम्मको कारवाही गरोस ।

षडानन्दको नाम भजाएर खानाका लागि थुप्रै सँस्थाहरु खुलेका छन् । त्यस मध्यको एक काठमाडौंमा रहेको षडानन्द प्रतिष्ठान र त्यसको शाखाको रुपमा रहेको इटहरीको संस्थाले लाखौं रकम उठाएर राज्य र जनतालाई ठगिरहेको पाइएको छ । उनको नाम केही संस्थाका लागि मागी खाने भाडो बनेको छ ।

काठमाडौंको घट्टेकुलो स्थित प्रतिष्ठानको कार्यालयमा पुग्दा यस्तो कुराको खुलासा भएको छ । जुन संस्था र त्यसमा कार्यरत व्यक्तिहरुले जीवनमा दिङ्ला देखेका छैनन् । उनीहरुले ठुल्ठुला कुरा गर्ने र षडानन्दको नाममा छात्रवृत्ति दिने भन्दै लाखौं पैसा उठाएको पाइएको छ । पुरुस्कार र सम्मानको नाममा आफ्ना आसेपासेलाई पनि आर्थिक लाभ प्रदान गरेको भेटिएको हुँदा समेत नेपाल सरकार र समाजकल्याण परिषद् मौन र बेखवर छन् ।

सरकारले छात्रवृत्तिको नाममा ठगि गर्नेमाथि तत्काल छानविन गरि कारवाही गरोस । जसको  षडानन्दलाई चिनाउनका लागि कुनै योगदान छैन । तिनीहरुलाई नै किन सम्मान गरिन्छ । यसको अर्थ त कुटे जस्तो गर मा रोए जस्तो गर्छु । अर्थात् आफ्नै मान्छे डमी खडा गरेर संकलन गरेको रकम चप्काउने नियति हो ।

गुरुको नाममा सामाजिक सँस्था दर्ता गरेर ठगको व्यापार गर्नेले उनिमाथि योगदान भन्दा पनि उनका योगदानलाई समाप्त पार्ने काम गरेका छन् । त्यसैले यस्ता संस्थाहरु तुरुन्त खारेज गरेर ठगका व्यापारीहरुको धन्दा रोक्न सरकारले कदम चालोस ।

गुरुको नाममा खुरुखुरु खान मनाही छ । षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरेर ऐतिहासिक स्थल दिङ्ला पहिचान स्थापना गर्दै उनका नाममा दलाली गर्ने सामाजिक संस्थाका नाममा नक्कलीसमाजसेवी बन्नेहरुलाई हदैसम्मको कारवाही होस् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News