नेता कार्कीलाई रु एक लाख सहयोग
विराटनगर, २७ चैत । विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि मंगलबार रु एक लाख सहयोग गरेको छ ।
अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान्तरण गर्नुभयो । संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा उम्मेदवार कार्की चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कार समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइते हुनुभएको थियो । पूर्वसभापति कार्कीको अहिले शिक्षण अस्पताल काठमाडौँमा उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको छ ।
निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भनेपनि समुचित सहयोग नपाइएको गुनासो उहाँको परिवारले गरेको छ । चेक हस्तान्तरण समारोहमा काँग्रेस सभापति लिम्बूले काँग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइतेको उपचारमा लाग्नुपर्नेमा जोड दिनुभयो । नोबेल अस्पतालका निर्देशक शर्माले आगामी दिनमा पनि थप सहयोग गरिने दृढता व्यक्त गर्नुभयो । नोबेल अस्पतालले असहाय र गरीबलाई निःशुल्क उपचार सेवा दिने गरेको बताइएको छ । रासस
प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार
















