सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन शुरु


 


तेह्रथुम,६ वैशाख

तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ ।

नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्न लागेको हो ।

अभिभावक र विद्यार्थीको ध्यान अंग्रेजी माध्यमले खिचेको र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गिर्दाे अवस्थामा रहेको अवस्थामा नगरपालिकाले सरकारी शिक्षालाई प्रभावकारी बनाउन अंग्रेजी माध्यमको पठनपाठन शुरु गरेको हो ।

नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पढाइका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ३३ लाख बजेट विनियोजन गरेको छ । नगर क्षेत्रमा बाल कक्षासमेत गरी ३३ वटा सामुदायिक विद्यालय रहेका छन् ।

आगामी वर्षबाट कक्षा थप गर्दै बजेटसमेत वृद्धि गरेर नगर क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न आफूहरुको ध्यान केन्द्रित भएको नगर प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । रासस

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्