मुग्लिन सडक सहज बन्दै गएपछि दुर्घटना झन बढ्दै, कुन महिनामा कति दुर्घटना ?
चितवन, वैशाख ७
नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै गएपछि सवारी दुर्घटना घट्नुको सट्टा बढ्दै गएको छ ।
विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यस उता मुग्लिनसम्म नौ मिटर सडक चौडा बनेको छ ।
खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् । नारायणगढ मुग्लिन सडकखण्डमा यस आर्थिक वर्षको साउन महिनामा एक सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो । भदौ महिनामा दुर्घटना भएको थिएन भने असोजमा एक दुर्घटनामा एकको मृत्यु भएको थियो ।
कार्तिक महिनामा ६ वटा दुर्घटना हुँदा एकको मृत्यु र एकजना घाइते भएका थिए । मंसिरमा दुई दुर्घटनामा परी एकको मृत्यु र एकजना घाइते भएका थिए । पुसमा दुई दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका थिए ।

पछिल्ला समय सडक सहज बनेसँगै दुर्घटनाको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । माघ महिनामा सो सडक खण्डमा चार वटा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो भने, एकजना घाइते भएका थिए । फागुन महिनामा ६ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । भने ३० जना घाइते भएका थिए ।
चैत महिनामा आठवटा दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तकाअनुसार जब सडकयात्रा सहज हुँदै गयो तब दुर्घटना बढेको देखिन्छ । सो सडक खण्डमा कालोपत्रे गर्ने काम माघ महिनाबाट तीव्र गतिमा अगाडि बढेको थियो । त्यही महिनाबाट सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ ।
सडक निर्माणको क्रममा सडकमा संकेत कम भएको र सवारी चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख पन्तले बताउनुभयो । ‘सडक र सडक किनारामा हुनुपर्ने ट्राफिक संकेत नहुँदा जथाभावी सवारी चलाउँदा पनि दुर्घटना बढेको पाइन्छ,’ उहाँले भन्नुभयो ।
बाटो सहज बन्दै जाँदा दुर्घटना बढेको देखिन्छ, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले भन्नुभयो, “बाटो सहज छ भन्दैमा हतारमा सवारी चलाइदिने गर्नाले दुर्घटना बढेको हो ।”
पछिल्ला दुई महिनामा सडक दुर्घटना बढेपछि आयोजनाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सचेतनाको कार्यक्रम सञ्चालन गर्न लागेको खनालले जानकारी दिनुभयो ।
रासस
प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार
















