कुलपति उप्रेती भोजपुरमा अभिनन्दित


 


काठमाडौँ, २७ वैशाख
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा अभिनन्दित भएका छन् ।

भाषा तथा साहित्यका विविध विधामा साढे पाँच दशकदेखि निरन्तर साधनारत उप्रेतीले उपकुलपति हुँदै कुलपतिको गरिमामय पदमा रहेर नेपाली वाङ्मयको सर्वाङ्गिण उन्नयनका निमित्त पु¥याएको अनुकरणीय योगदानको उच्च कदर गर्दै उनलाई अभिनन्दन गरिएको नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बताए ।

वाङ्मय परिषद्, भोजपुरका साहित्यिक संस्था नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य कला प्रतिष्ठानका साथै काठमाडौँमा कार्यरत संस्था रामप्रसाद राई स्मृति प्रतिष्ठान र अरुण गाउँपालिका सरोकार समाज समेतका ६ वटा संस्थाद्वारा कुलपतिलाई संयुक्त रुपमा अभिनन्दन गरिएको थियो ।

जिल्ला समन्वय समिति, भोजपुरकी उपप्रमुख अनिशा खड्काले ताम्रपत्र र फूलको माला, भोजपुर नगरका प्रमुख कैलाशकुमार आलेले टक्सारको करुवा र भोजपुरे सिरुपाते खुकुरी तथा जेष्ठ नागरिक मेजर बलिमान राईले राई फेटा र पटुका अर्पण गरी कुलपतिलाई अभिनन्दन गरेका थिए ।

अभिनन्दन ग्रहण गरेपछि मन्तव्य व्यक्त गर्दै कुलपति उप्रेतीले भने, “पदमा रहँदा कुनै पनि मान–सम्मान ग्रहण नगर्ने मेरो मान्यता थियो तर आज भोजपुरको तर्फबाट पाएको यो सरप्राइज अभिनन्दन स्वीकार नगरी मैले धरै पाइँन । यसका लागि म समस्त भोजपुर र भोजपुरेजनप्रति नतमस्तक छु ।”

प्राज्ञ श्रवण मुकारुङले राज्यको सर्वोच्च वाङ्मयिक संस्था प्रज्ञा–प्रतिष्ठानका कुलपतिलाई पहिलो पटक भोजपुरले स्वागत र अभिनन्दन गर्ने सौभाग्य प्राप्त गरेको बताउँदै यो ऐतिहासिक हुने विचार व्यक्त गरे ।

भोजपुरमा आयोजना भएको ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी र ‘बहुभाषिक कविता उत्सव’मा सहभागी हुन भोजपुर पुगेका कुलपति उप्रेतीलाई यस्तो अभिनन्दन गरिएको हो ।

प्रकाशित मिति: २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्