पत्रकार रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक



चितवन, २२ असार । पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ। यसअघि ‘एकान्तबास’ नामक लकडाउन डायरी प्रकाशित गरिसकेका रिजालको नयाँ कृति शिखा बुक्सले प्रकाशन गरेको हो।

अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा लेखकका बुबाआमा, छोराछोरी, कवि भूपिन, एक्सपर्ट चितवनका प्रबन्धक नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि भूपिनले ‘नैबेद’ समकालीन नेपाली समाजका विविध यथार्थ र सङ्कटलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको सशक्त कथासङ्ग्रह भएको बताए। उनका अनुसार यस सङ्ग्रहका कथाले मनोरञ्जन मात्र नभई पाठकलाई सोच्न, प्रश्न गर्न र आत्ममन्थन गर्न प्रेरित गर्छन्।

विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विषयलाई कथामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै उनले समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक संक्रमणलाई कृतिले जीवन्त रूपमा चित्रण गरेको बताए।

कार्यक्रममा लेखक रिजालसँग अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संवाद गरेका थिए। संवादका क्रममा ‘नैबेद’ को लेखन प्रक्रिया, कथाको संरचना तथा लेखकका साहित्यिक रुचिबारे छलफल भएको थियो।

कार्यक्रमको स्वागत तथा सहजीकरण अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले गरेका थिए।

शिखा बुक्सबाट प्रकाशित ‘नैबेद’ कथासङ्ग्रहमा १४ वटा कथा समावेश छन्। पुस्तकको मूल्य रु. ५९५ निर्धारण गरिएको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्