‘मृत्युगञ्जको मौनता’ कवितासङ्ग्रह सार्वजनिक



काठमाडौँ, २७ असार कवि केशव निमेषको नयाँ कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। शिखा बुक्सबाट प्रकाशित कृतिको साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वको उपस्थितिमा विमोचन गरिएको हो।

नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले सङ्ग्रहले समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको बेचैनीलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए। उनले केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक ढङ्गले अभिव्यक्त गरेको उल्लेख गर्दै यस कृतिले नेपाली कवितामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले सङ्ग्रहमा समाजका दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरिएको बताइन्। साहित्य सामाजिक रूपान्तरणको माध्यमसमेत भएको उल्लेख गर्दै उनले निमेषका कविताले पाठकलाई नयाँ दृष्टिकोणबाट समाजलाई बुझ्न प्रेरित गर्ने धारणा राखिन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले पनि कृतिमाथि समीक्षा गर्दै साहित्यले समाजमा मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनीहरूले ‘मृत्युगञ्जको मौनता’ ले समकालीन नेपाली समाजको यथार्थलाई सशक्त रूपमा चित्रण गरेको उल्लेख गरे।

शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्यका क्रममा गुणस्तरीय नेपाली साहित्यको प्रवर्द्धनका लागि लेखक, पाठक र प्रकाशकबीचको सहकार्य आवश्यक रहेको बताए। उनले उत्कृष्ट साहित्य पाठकमाझ पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताए। उनले ‘मृत्युगञ्जको मौनता’ व्यक्तिगत अनुभूतिको मात्र नभई समाजका असंख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्दै पाठकको प्रतिक्रियाले आगामी सिर्जनामा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्