डायमनशमशेर राणा साहित्यिक पुरस्कार तीन स्रष्टालाई प्रदान
काठमाडौँ, २१ असार । उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा यस वर्षको डायमनशमशेर राणा साहित्यिक पुरस्कार तथा सम्मान तीन जना स्रष्टालाई प्रदान गरिएको छ।
डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा डायमनशमशेर राणाका विषयमा विद्यावारिधि गरेका डा. टीकाराम पोखरेल, उनीमाथि ‘डायमनश्री’ महाकाव्य लेखेका डा. माधव वियोगी तथा उनकाे व्यक्तित्व र कृतित्वमाथि अनुसन्धान गरेका उपप्राध्यापक डा. विष्णु न्यौपानेलाई जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले डायमनशमशेरले ऐतिहासिक उपन्यास लेखनमार्फत नेपाली साहित्यलाई विशिष्ट योगदान दिएको बताउँदै नेपालमा उनीसँग तुलना गर्न मिल्ने अर्को ऐतिहासिक उपन्यासकार नरहेको बताए। साहित्य सिर्जनासँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै उनले प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पनि महत्वपूर्ण योगदान पुर्याएको बताए।
कोइरालाका अनुसार उनी २००८ सालदेखि २०३७ सालसम्म नेपाली कांग्रेस ललितपुरका सभापति थिए। त्यसपछि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पनि रहेका थिए।
साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले प्रजातन्त्रका लागि संघर्ष गर्ने क्रममा उनको तराईमा रहेको ५०० बिघा र काठमाडौँ उपत्यकाको १०० रोपनी जग्गा सर्वस्वहरणमा परे पनि त्याग र योगदानका कारण उनी आज पनि उत्तिकै स्मरणीय रहेको बताए।
समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले उनको ‘गृहप्रवेश’ उपन्यास नेपाली साहित्यमा ‘म्याजिक रियालिज्म’ (चामत्कारिक यथार्थवाद) भित्र्याउने अग्रणी कृति भएको बताए। साहित्यकार अनिता कोइरालाले आफ्नै पारिवारिक शासन व्यवस्थाविरुद्ध कलम चलाउँदै अन्धकार र निरंकुशताको विरोध गर्ने साहित्यकारका रूपमा उनी स्थापित भएको बताइन्।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू डा. माधव वियोगी, डा. विष्णु न्यौपाने र डा. टीकाराम पोखरेलले डायमनशमशेरको व्यक्तित्व, कृतित्व तथा नेपाली साहित्य र लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदानबारे चर्चा गरे।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार












