कविता – ‘मेरो देशमा कर्फ्यु लागेको छ’


 


dharma tiwari

धर्म तिवारी

साठी डिग्री घाममा पिल्सिंदै

मानवताबिहिन मेशिन शहरको एक छेउबाट

मेरो देशको चिसो हिमाल सम्झेर

म सपना बुन्दैछु यतिबेला मेरो देशको

मेरो सपना पूरा हुन्छ कि हुन्न थाहा छैन

तर आमा, मेरो बाटो नहेर्नु म फर्कने

म आउन सक्दिन त्यहाँ

किनकी यतिबेला मेरो देशमा कर्फ्यु लागेको छ ।

 

आमा तिमीलाई मखमली चौबन्दी ल्याइदिने रहर त छ

सङ्गिनीका हातहरुमा चुरा भराउने रहर त छ

परेवा उडेजस्तो उड्ने सपना देख्ने छोरालाई

कलम समाउन सिकाएर देश बुझाउने मन त छ

आँगनीमा मुस्कुराउँदै काँधभरि सुटकेश र झोला भिरेर

दशैँ बनेर भित्रिएँ भने त ठीकै होला

तर, बाटो खन्न पर्खी बसेका दौँतरीहरु

काख भर्न आतुर भएर मुजा परेका गालामा

मुस्कान भरेर पर्खिरहेकी आमा र

सुहाग भर्न हतारिएकी प्राणप्यारीको अगाडि

म काठको बाकसमा भरिएर आएँ भने

आमा तिमी कत्ति बिचलित नहुनु

तिमीसँग भेट नहुँदै म बागमतीमा खरानी बनाइएँ भने

कोशी किनारमा नआइपुग्दै

सडकमा जलाइएका टायरहरुसँग जलाइएँ भने

तिमीसम्म आइपुग्न सक्दिन म आमा,

किनकी, यतिबेला मेरो देशमा कर्फ्यु लागेको छ ।

 

तिम्रो आँखाबाट बगिरहने सप्तकोशीमा

डुबेर उत्रन नसकेर

परदेशिएको थिएँ म बुबाको मृत्युपछि

अँध्यारोमा जूनतारा मात्र थिए हाम्रो साथी

छानाबाट निरन्तर हेरिरहने

छातिभित्र दन्केको राँको निभाइदिन्थ्यो

साउन भदौको शित्तल झरीले

बहिनीको बिहेको लागि गाँसेका ती टपरीहरुमा

बारीको डिलभरि जन्ती राखेर

स्वागत गर्न पाए त ठीकै होला

रातभरि अँगेनाको डिलमा बसेर

कातेका ती बत्तीले बुबाको सम्झनामा

भागवत लगाएर बैतरणी तराउन सके त ठीकै होला

तर, ती टपरी र बत्तीहरु

म भरिएको काठको छ फिटे बाकसभित्र तिमीले चढाउनु पर्यो भने

तिमी कत्ति पनि बिचलित नहुनु आमा

म यतै कतै आएको भए पनि

तिमै आँखाको सामु भाला तीर र खुँडामा परी

पेट्रोलको आगोमा जिउँदै जलिसकेको हुने थिएँ

तिमीबाट खोसिएर छातीमा गोली लागी

५० लाखको शहिद बनिसकेको हुने थिएँ

यो दशैँमा म त्यहाँ आउन सक्दिन आमा

किनकी, यतिबेला मेरो देशमा कर्फ्यु लागेको छ ।

 

हुन त, हुन त,

गण्डकीको एक अँजुली पानीले

मेरो देश धपक्क बल्नु पर्थ्यो

कोशीको एक अँजुली पानीले

मेरो देश अन्न भण्डार बनी टन्न अघाउनु पर्थ्यो

कार्णालीको एक अँजुली पानीले

तिम्रा सन्तानको आयु बढ्नुपर्थ्यो

बिडम्बना !

हैजा र महामारीले कर्णाली बौरिन नपाउँदै

भू-कम्पले बनाएका सामूहिक चिहानहरुबाट आएको

आवाजहरु चिच्याइरहेछन्

तिनै चिहानको ठीक माथिपट्टि डाइनिङ्ग टेबलमा

सजिएका रोष्ट र ह्विस्कीका ब्राण्डको

ह्वास्स गन्ध एकैसाथ मिसिंदा

आमा तिमीलाई लाग्दो हो

परदेशिएको छोरो आए केही हुन्थ्यो कि

तर म अहिले आउन सक्दिन आमा

तिम्रा अरु सन्तानहरु ताण्डव नृत्यमा अन्धा भएका छन्

रगतको कर्णाली बगेर

छिमेकीको आँगनसमेत रङ्गिएको छ

सुन्दर फूलका थुँगाहरु भेला गरी

बुबाको फोटोमा माल्यार्पण गर्न खोज्दा

तिम्रो अर्को सन्तानले बाको फोटै च्यातिदिन्छ

हाम्रो टुक्रा-टुक्रा खेतबारी

कहिले सप्तकोशीले डुबाउँछ

कहिले सुनकोशीले बगाउँछ

 

हिउँद लाग्ने बेला भो

तिम्रो बुढो शरिरमा

ट्याम्के र पिखुवाको सिरेटोले कत्ति छेड्दो हो

लुगलुग काप्दै तिम्रा हातहरु

मेरो फोटो छुन पुग्दा हुन्

सन्तान सैतान बनेपछि

बलियो आशा बदलिंदो हो खण्ड खण्डमा

अब, आशा होला मै एउटा परदेशीको

एउटा ढाकाको न्यानो बर्की ल्याउँछ, यसपालिको हिउँदमा,

तर आमा म आउन सक्दिन

किनकी, यतिबेला मेरो देशमा कर्फ्यु लागेको छ ।।

धर्म तिवारीबाट थप कविता

कविता – ‘म गोपाल चिमोरिया’

प्रकाशित मिति: २ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्