सुत्केरीलाई हेलिकप्टरबाट काटमाण्डौँ लगियो
तेह्रथुम, असार १२
जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि पाठेघरमा समस्या आएपछि आज मध्याह्न काठमाडौँ लगिएको हो ।
दिलुको जिल्ला अस्पतालको आकस्मिक प्रसूति कक्षमा आइतबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । उहाँले दोस्रो सन्तानका रुपमा छोरी जन्माउनुभएको छ । तर प्रसूतिका क्रममा पाठेघरमा समस्या भएको र त्यसको शल्यक्रिया गर्दा बढी रक्तश्राव भएर ज्यान जोखिममा पर्ने भएपछि जिल्ला अस्पतालले आइतबारै धरान लैजान सिफारिस गरेको थियो ।
हिलाम्मे सडकबाट धरान उपचारका लागि लैजाँदा झन समस्या हुने भन्दै परिवारले हेलिकप्टर भाडामा लिएर काठमाडौँ लगेका छन् । रु तीन लाख ६० हजार भाडामा लिएर श्री एयरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको दिलुका श्रीमान् गणेश लिम्बूले बताउनुभयो । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले रकम जुटाउन ढिलाइ भएकाले बिरामी लैजान ढिला भएको परिवारले जनाएको छ । रासस
प्रकाशित मिति: १२ असार २०७५, मंगलबार
















