अछामको कमलबजारमा वर्षामापन यन्त्र सञ्चालन



अछाम, असार १३

अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो ।

बन्द अवस्थामा रहेको वर्षामापन केन्द्र कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा पुनः सञ्चालनमा आएपछि जिल्लामा बाढी र प्रकोपको अवस्थाबारे जानकारी पाउन सहज हुने भएको छ ।

तत्कालिन अवस्थामा यूनिसेफ र नेपाल रेडक्रस सोसाइटी, अछाम शाखाको पहलमा रु नौलाखको लागतमा स्थापना गरिएको वर्षामापन केन्द्रमा रहेको सोलार प्यानल चोरी भएपछि अवरुद्ध भएको थियो ।

विशेषगरी अछाम क्षेत्र नम्बर २ र समग्रमा अछाम जिल्लाको तापक्रम मापन, वर्षा मापन र पानीको मात्रा बढेर जोखिम अवस्था सिर्जना हुँदा तथा नदीमा पानीको बहाव बढेर जोखिम अवस्था आउँदा यस यन्त्रले जिल्ला प्रशासन कार्यालयमा रहेको आपत्कालीन सञ्चारमार्फत साइरन बज्ने र सूचना दिने गर्दछ ।

वर्षामापन केन्द्र सञ्चालनमा आएसँगै प्राकृतिक प्रकोप, बाढी पहिरोबाट जनधनको क्षति हुनुपूर्व सचेतना अपनाउन सहज हुने नेपाल रेडक्रस सोसाइटी अछामका कार्यक्रम संयोजक खेमप्रसाद भट्टराईले बताउनुभयो ।

यो वर्ष कमलबजार नगरपालिकाले रु चार लाख २६ हजार बजेट विनियोजन गरी सोलार प्यानल र अन्य व्यवस्थापनलाई प्रभावकारी बनाएपछि यन्त्र सुचारु भएको उहाँले जानकारी दिनुभयो । यसबाट वर्षायामको समयमा बाढीलगायत प्रकोप न्यूनीकरण गर्न र सचेतना अपनाउन सहज हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News