नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा



चितवन, असार १३

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ ।नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो ।

बिहान ६ः३० बजे सो ठाउँमा पहिरो खसेको थियो । पहिरो खसेको ठाउँको भित्तामा खुकुलो गेग्र्यान रहेकाले रोकथाम गर्न नसकिएको हो । खनालका अनुसार पानी पर्नासाथ पहिरो खस्ने गर्छ । सो सडकको अन्य भागमा पहिरो रोक्न काम भइरहेको भए पनि हाल प्रयोग भएका प्रविधिले त्यहाँ काम गर्न नमिल्ने उहाँले बताउनुभयो ।

भित्तामा खोपेर अड्याउन नमिल्ने भएकाले सो ठाउँमा काम गर्न नसकिएको हो । यसअघि पनि पानी पर्नासाथ सो ठाउँमा पहिरो खस्ने गरेको छ । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी व्यहोरेका थिए ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो पनि एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।

सडकको पहिरो हटाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News