जीप दुर्घटना अपडेटः उपचार असम्भव भएपछि बिरामीलाई नेपालगञ्ज रिफर



बाजुरा, असार १४
बाजुराको त्रिवेणी नगरपालिका–४ पिपलसैनमा बुधबार राति ७ः४५ मा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ ।

दुर्घटनामा परी घटनास्थलमा नै सोही नगरपालिकाका वडाध्यक्षसहित दुईजनाको मृत्यु भइसकेको छ । बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । जिप सडकबाट करीब ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका त्रिवेणी नगरपालिका–३ बस्ने वीरबहादुर शाही र टेकेन्द्र शाही, १ नं वडाका घनश्याम बूढा र रिनारी नेपाली र जिप चालक चन्द्रमणि मोहनीको अवस्था नाजुक भएकाले थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको अस्पतालले बताएको छ ।

उनीहरुको टाउको, ढाड र छातीमा चोट बढी लागेकाले बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरिएको बताइएको छ । दुर्घटनामा घाइते भएका पाँचजनालाई सामान्य उपचारपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।

गम्भीर घाइतेमध्ये पाँचजना नै खतरामा रहेको अस्पतालको भनाइ रहेको छ । जिपमा चालकसहित सातजना सवार रहेका थिए । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल, अछाम लगिएको थियो ।

घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगी दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष खम्म नेपाली र लालसरा बूढाको शव परीक्षणका लागि सदरमुकाम मार्तडीमा ल्याइने भएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News