मुलुकमा आएको परिवर्तन अधुरो : मन्त्री यादव
सप्तरी, असार २३
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकमा आएको परिवर्तन अधुरो र अपूर्ण रहेको बताउनुभएको छ । आज सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरुले चाहेको परिवर्तन अझै पूरा हुन नसकेको बताउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले संघीयता कार्यान्वयनका लागि विभिन्न कार्यहरु भइरहँदा संघीय गणतन्त्रमाथि बारम्बार प्रहार भइरहेको जिकिर गर्नुभयो ।
उहाँले संघीय गणतन्त्र नेपालमा जे–जति परिवर्तन भएको छ, त्यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अधुरो र अपूर्ण परिवर्तन’लाई पूरा गर्नका लागि आफूहरुको राजनीतिक लडाइँ पनि जारी नै रहने उहाँको भनाइ थियो ।
प्रकाशित मिति: २३ असार २०७५, शनिबार












